के उत्तर–दक्षिण कोरियाको शत्रुता समाप्त भयो ?

वर्ष २०१७ जाँदाजाँदै कोरियाली प्रायद्वीपमा एउटा निकै ठूलो परिवर्तन भयो । आणविक कार्यक्रमलाई लिएर आफ्नो जिद्दीमा अडिएका उत्तर कोरियाली नेता किम जोङ उनले केही नरमपना देखाउँदै आफ्नो छिमेकी देशसित सम्बन्ध सुधार्ने संकेत दिए । उत्तरले दक्षिणको आयोजनामा भइरहेको शीतकालीन ओलम्पिकमा आफ्नो टोली पठाउने निर्णय गर्‍यो र एक कदम अघि बढ्दै उसले उद्घोष गर्‍यो कि उद्घाटन समारोहमा दुवै देशका टोलीले एउटै झन्डामुनि मार्च गर्नेछन् ।

 

किम जोङ उनले ओलम्पिक उद्घाटनका लागि आफ्नी बहिनीलाई प्योन्चाङ पठाए र फर्किएपछि उनकी बहिनीले जुन रिपोर्ट बुझाएकी छिन्, त्यो उनलाई मन पनि पर्‍यो । उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरियाका टोली एउटै झन्डामुनि मार्च गर्नु नै संसारका लागि निकै ठूलो सन्देश हो । जुन झन्डामुनि यी टोली थिए, त्यसमा सेतो पृष्ठभूमिमा एकीकृत कोरियालाई देखाइएको थियो ।

 

आफ्नो विगत र साझा इतिहास सम्झेर उत्तर कोरियाका शीर्ष अधिकारीहरूका आँखा रसाए । जब दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र किम जोङ उनकी बहिनी किम यो जोङ एकसाथ बसे, त्यतिखेर दुवै देशबीचको दूरी कम देखियो । उनकी बहिनी यो जोङ त्यहाँ संयुक्त महिला आइस हकी टोलीको हौसला बढाउन उपस्थित थिइन् । सो अवसरमा उत्तर कोरियाका चियरलिडर्सले संसारभरबाट त्यहाँ पुगेका दर्शकको उत्साह वृद्धि गरिरहेका थिए ।

 

नयाँ मित्रता हजम हुन कठिन
तर, के शीतकालीन ओलम्पिकबाट सम्बन्धमा आएको यो न्यानोपन लामो समयसम्म कायम रहला त ? यो लाख रुपैयाँको प्रश्न हो । जसको उत्तर सायद संसारभरका हरकोही पाउन चाहन्छन् । उत्तर र दक्षिण कोरिया खेलको बहानामा एकअर्काको नजिक आएको समाचार संसारका हरेक कुनामा चर्चाको विषय बन्यो । तर, उत्तर र दक्षिण कोरियाबीचको यो नयाँ मित्रता दक्षिण कोरियामा धेरैलाई हजम भइरहेको छैन । यस्तो सोच्नेहरूको भनाइ छ कि मुन सरकारले उत्तरसित मित्रताको हात बढाएर अमेरिकासित आफ्नो दूरी बढाएको छ ।

 

परम्परावादीहरू यति धेरै हतोत्साहित भएका छन् कि दक्षिण कोरियाका दक्षिणपन्थी मिडिया आफ्ना सम्पादकीयमा नियमित रूपमा उत्तर कोरियाको चर्चामा आपत्ति जनाइरहेका छन् । एउटा चिन्ता यो पनि छ कि उत्तर कोरियाले आफ्नो आणविक तथा मिसाइल कार्यक्रममाथि रोक लगाउने वाचा गरेर त्यसको बदलामा दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास रोक्नुपर्ने माग गर्न सक्छ । यथार्थ यो हो कि अपेक्षा हरेक पक्षबाट गरिँदै छ । साथै जोकोही अवस्था थप खराब नहोस् भन्ने नै चाहन्छन् । खेल महोत्सवले दुवै देशलाई निकट ल्याउने मञ्च दिएको पक्का हो । तर, यत्ति प्रयासबाटै राजनीतिक गतिरोध एकदम छुमन्तर भएर जाला भन्नेमा भने सन्देह छ ।

 

अविश्वास
दशकौँदेखि चलिरहेको कुराकानी परिणामहीन रहँदै आएका छन् । अत्यन्त धेरै उदासी र अविश्वासका कारण यस प्रायद्वीपमा तनाव र असहजता स्थायी रूपमै बढ्न गयो । ६५ वर्षअघि भएका कोरियाली युद्धपछि यी दुवै देशबीचको सम्बन्ध लगभग एकैप्रकारका र स्थायी रहेका छन् । उत्तर कोरिया निश्चित रूपमा संसारकै सबैभन्दा खतरनाक देश हो । यसको कारण उसको आणविक कार्यक्रम नै हो । किम जोङ उनको भण्डारमा आणविक हतियार भएका कारण यसको खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।

 

के उत्तर कोरियाका व्यवहार या नीतिमा परिवर्तन रातारात आयो र ऊ दक्षिण कोरियासित मित्रताका लागि तीव्र रूपमा उत्सुक छ त ? उत्तर कोरिया पहिले पनि वार्ताको टेबलमा बसिसकेको छ र कैयौँ चरणका कुराकानीबाट कुनै परिणाम निस्कन सकेको छैन । उत्तर कोरियाली अत्यन्त चलाख हुन्छन् र मोलतोलमा निकै सिपालु हुन्छन् । उनीहरू हरेक इन्चका लागि लड्छन् र हरेक खराब विषयबारे निकै लामो समयसम्म शोक मनाइरहन्छन् ।

 

उत्तर कोरियासितको मेलमिलाप यति सजिलो छैन । आफ्नो आणविक कार्यक्रमलाई लिएर कुनै संवाद नै गर्न तयार नहुने उत्तर कोरिया अहिले केही कदम त पक्कै अघि बढाइरहेको छ । उत्तर कोरियामा वामपन्थी विचारधाराका मानिसलाई आफ्नो सरकारले यस अवसरलाई बेकार खेर जान नदिने पूर्ण विश्वास छ । तर, राष्ट्रपति मुन यस मार्गमा कति अघि बढ्न सक्छन्, यसबारे अहिल्यै अनुमान लगाउनु बढी नै हतारो हुनेछ । राष्ट्रपति मुन ४१ प्रतिशत भोटका साथ सत्तामा आएका छन् र सायद आफ्नै शक्तिमा उनी खासै अघि बढ्न नसक्लान् ।

 

अमेरिकी भूमिका
अर्कातिर उत्तर कोरिया र दक्षिण कोरियाबीच मौलाइरहेको ‘नयाँ मित्रता’बाट ट्रम्प प्रशासन असहज महसुस गरिरहेको छ । किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् । र, आगामी दिनमा राष्ट्रपति मुन प्योङयान जान पनि सक्छन् । यद्यपि, यो निम्तो औपचारिक रूपमा दिइएको होइन । र, मुनले उत्तर कोरिया अमेरिकासित संवादका लागि तयार होस् भन्ने आफूले चाहेको बताएका छन् ।

 

अहिले त यो एक माहोल मात्र हो । एउटा छोटो भेटघाटलाई सम्बन्धमा सुधारका रूपमा पेस गर्न सकिन्न । त्यो, पनि त्यतिवेला, जतिवेला उनीहरूबीच कुन मुद्दामा चर्चा भयो भन्नेसम्म सार्वजनिक भएको छैन । दक्षिण कोरियामा चर्चा छ कि राष्ट्रपति मुन कुराकानी गर्न चाहन्छन्, तर परम्परावादी भने यसलाई तुष्टीकरणका रूपमा हेरिने हो कि भन्ने त्रासमा देखिन्छन् ।

 

दक्षिण कोरियाका इतिहासकार जोन डेल्युरी भन्छन्– मानिसलाई लागिरहेको छ कि मुन जे इनलाई ठीक ढंगमा श्रेय प्राप्त भइरहेको छैन । मानिसलाई उत्तर कोरियाले मन परिवर्तन गरेको लागिरहेको छ । अमेरिकाले बुझ्नुपर्छ कि दक्षिण कोरियाका हात बाँधिएका छन् । बुझ्नु जरुरी छ कि उत्तर कोरियालाई दक्षिण कोरियासित डर लाग्दैन । जब कि दक्षिण कोरियालाई भने डर लाग्छ, किनकि आणविक हतियार अझै ऊसित छैनन् । त्यसैले शीतकालीन ओलम्पिकपछि आशा बढेको त छ, तर सत्य यो हो कि यस पहलबाट त्यति धेरै आशा नराख्नु नै बेस हुन्छ ।

 

(प्रा. केली पुसान नेसनल युनिभर्सिटीका प्राध्यापक हुन्)
बिबिसीबाट


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी