प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको जम्बो सचिवालय हटाउनुपर्ने, सांसद विकास कोष खारेज गर्नुपर्ने लगायत विषयमा खरो टिप्पणी गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्री एकाएक चर्चामा आएकी छिन् । उनले पार्टी नेतृत्व र सरकार संचालनकर्ताको पनि खरो टिप्पणी गरेकी छिन् । तर, सरकालाई दिएको शुझाव पार्टीभित्रकै मान्छेलाई पचेन । उनीमाथि नेकपाभित्रबाटै चर्को आलोचना भैरहेको छ । उनै रामकुमारी झाँक्रीसँग हटपाटी डटकमले कुराकानी गरेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट नेपाल पनि अछुतो रहेन । आर्थिक गतिविधिहरु सबै ठप्प छन् । नेपालले अबका दिनमा कस्ता समस्या झेल्नुपर्ला ?
नेपालसहित संसारभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारीले कस्तो रुप लिन्छ, संसारभरमा कहिले सामान्य अवस्था आउँछ, हामी यसबाट कसरी जोगिन्छौँ लगायत यावत जिज्ञासाको जवाफ अहिल्यै कसैलाई पनि थाहा छैन । यो कसैले पनि तत्कालै अनुमान गर्न नसक्ने विषय पनि हो । यसका जानकार, विज्ञ र स्वयं डब्ल्यूएचओले पनि महामारी कहिलेसम्म रहन्छ भन्ने कुराको ग्यारेन्टी गर्न सकिरहेका छैनन् । यसले हाम्रो अर्थतन्त्र के होला, रोजगार, पर्यटन, रेमिट्यान्स, कृषि यावत क्षेत्रमा कत्तिसम्मको क्षति बेहोर्नुपर्ने हो त्यो अहिले नै भन्न सकिने अवस्था छैन । त्यसैले नेपालले बेलैमा बुद्धि नपुर्याए थप भयावह अवस्था बेहोर्नुपर्ने देखिन्छ । सबैभन्दा धेरै त रोजगारीको क्षेत्रमा असर पर्ने देखिन्छ । वैदेशिक रोजगार गुम्ने, ती मानिसहरु नेपाल आएपछि नेपालमा खाने मुखहरु बढ्ने र नेपालमा पनि रोजगार नभएपछि के होला ?
तपाईले वार्षिक बजेटलाई घटाएर सानो बनाउने र प्रधानमन्त्रीसम्मका जम्बो सचिवालयलाई पनि हटाउनुपर्ने बताउदै आउनुभएको छ । यसको आवश्यकता किन ?
चालु वर्षको पुँजीगत खर्च अझै हुन नसकेकोले यो वर्षका लागि त्यति धेरै समस्या नहोला । तर अर्को आर्थिक वर्षदेखि चाँही आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने निक्कै समस्या हुन सक्छ । साधारण चालुतर्फ हाम्रा के के फजुल खर्चहरु छन् त्यसलाई कटौती गर्नुपर्छ । बजेटको आकारलाई घटाएर अर्थपुर्ण बनाउनुपर्ने देखिन्छ । बजेट घटाईएन भने हाम्रो खर्चले धान्न सक्दैन ।
बजेटलाई जवाफदेही, पारदर्शी बनाउन कसरी सकिन्छ होला भनेर मुल्यांकन गरेर अबको बजेट ल्याउनुपर्छ । वडा अध्यक्षदेखि राष्ट्रपतिसम्मका व्यक्तिले जुन समानान्तर सचिवालय संचालन गरिरहेका छन् । तत्कालका लागि ती सबै सचिवालय खारेज गर्नुपर्छ । त्यसलाई राखेर आर्थिक भार मात्रै पर्छ भने त्यसलाई किन राख्ने ? प्रधानमन्त्रीका सबैभन्दा नजिकका सल्लाहकार मुख्यसचिव र सचिवहरु हुन् । मन्त्रीका सचिवहरु हुन् । यो सचिवालय अहिले आर्थिक भार थोपर्ने ठाउँ मात्रै हो ।
आवश्यकता नै पर्ने हो भने विज्ञको सल्लाहमा कत्ति जना राख्दा ठिक हुन्छ त्यसरी अगाडी बढौँ । एकजना प्रधानमन्त्रीले ४८ देखि ५० जनासम्म, राष्ट्रपतिले ६० देखि ७० जनासम्म, सभामुखले १० देखि २० जनासम्म राख्न पाउने व्ययवस्था छ । यसको औचित्य केका लागि ? यी सबै हटाईयो भने त धेरै नै आर्थिक भार कटौती हुन्छ नी हैन र ? मैले सरकारको गतिविधि थप मजबुत बनोस भनेर नै यसो भनेकी हुँ । तर केही व्यक्तिले कुरै नबुझी मेरो विरोध गरे ।
अर्को कुरा, दोहोरो काम गर्ने कार्यलयलाई पनि सिमित गरौँ भन्नुभएको छ । अलिकता खुलाईदिनु न दोहोरो काम गर्ने भन्नाले कस्ता कार्यलयहरुको कुरा गर्नुभएको ?
संघ, प्रदेश र पालिकाका संयन्त्रहरु निर्माण भैसकेका छन् । बजेटमा हेर्ने हो भने कत्तिपय विकास निर्माणका कार्यक्रमहरु ३ तहकै एउटै प्रकृतिका देखिन्छन् । केही क्षेत्रमा भने त्यो कसले हेर्ने भन्ने नै मतभेद छ । यी ३ तहले गर्ने कामहरु एउटै छन् भने त्यसलाई दोहोरिन नदिउँ । कामको बाँडफाँड गतिलो ढंगले गरौँ । त्यसरी दोहोरो काम गर्ने कार्यलयलाई पनि सिमित गरौँ । यसो गर्दा यताबाट पनि खर्च खट्न सक्छ । कसरी हुन्छ बजेटलाई सानो तर प्रभावकारी बनाउनुपर्छ । हैन भने हाम्रो अर्थ व्यवस्थामा धेरै नै संकट पर्ने देखिन्छ । नेपाली अर्थव्यवस्थामा अवस्था भयावह आयो अर्थात भोकमरी नै थेक्न नसकिने अवस्था आयो भने कोरोनाको महामारी त छँदै छ झन अर्को ठूलो बिकराल रुप लिन सक्छ ।
त्यसो भए त सांसद विकास कोषको पनि त काम छैन होला नी अब ?
हो, तपाईले ठिक भन्नुभयो । अब सांसद विकास कोषको पनि काम छैन । पूर्वाधार विकासका नाममा संघका सांसदलाई ६ करोडदेखि प्रदेशका सांसदलाई ४ करोडसम्म छुट्याईने गरिएको छ । यो अब आवश्यक नै छैन । सांसद विकास कोषमार्फत गर्ने भनेको काम पनि अब त स्थानीय तहले नै गर्न सक्छन् ।
तपाईले सामाजिक संजालमार्फत सरकारलाई जे कुराहरु सुझाव दिनुभएको थियो नी, पार्टीभित्रैबाट तपाईको आलोचना भैरहेका छ नी ?
मान्छेहरुलाई त्यो २ सय शब्द पनि पढ्ने फुर्सद छैन । रुची र धैर्यता पनि छैन । त्यस्ता मान्छेहरुले कुरै नबुझि मेरो विरोध गरेका हुन् । मैले सामाजिक संजालमा सरकारका लागि केही सु झावहरु लेखेकी थिएँ । प्रधानमन्त्रीले ४८ जना राख्न पाउने हो, हामीले १८ जना मात्रै राखेका छौँ, कहाँबाट जम्बो भयो भनेर ममाथि उल्टै खनिने काम भएको छ । उनीहरुले भनेजस्तै त्यो १८ जना पनि त बढि हो नी हैन र ?
१८ जना मान्छेले तलबसहित १८ वटा गाडी चढ्छन् । १८ जना ड्राईभर हुन्छन् । १८ वटै गाडीले नै तेल हाल्छन् । त्यसको सर्भिसिङ गर्नुपर्यो । अनि ति मान्छेहरुको अर्को सानो चेम्बर पनि हुन्छन् । खरदार सुब्बा, सहायकदेखि कार्यलय सहयोगीसम्मका अरु मान्छेहरु पनि हुन्छन् । यहि फजुल खर्च घटाऔँ भनेर भनेको त हो ।
उनीहरुका लागि तपाईको सुझाव के रहन्छ ?
गलत र लुटखोरहरुको समाजको विरोधमा म बोलिरहन्छु । बोल्दै आएकी छु र अझै बोल्छु । यो लुटको संसार त भत्काउनुपर्यो नी । म आलोचना गरेर अनि आलोचना सहेर आएको मान्छे हुँ । त्यस्ता आलोचनाले मलाई केही फरक पर्दैन । कसैले विरोध गर्दैमा अनि कसैले आलोचना गर्दैमा पछि हट्ने कुरै हुँदैन । केही मुर्ख र स्यालहुईँयाहरुले आलोचना र विरोध गर्दैमा पछि हट्ने मान्छे परिन म । त्यस्ता मान्छेहरुलाई मेरो भन्नु केही पनि छैन ।
नेकपा दलाल पुँजीपतिहरुको संरक्षण गर्ने कबज बन्यो भन्ने कुरा पनि छ । बास्तवमै नेकपा कम्युनिष्ट पार्टी नरहेर अब दलाल पुँजीपतिहरुको कबज नै बनेको हो त ?
हो, नेकपा अब कम्युनिष्ट पार्टी नरहेर दलाल पुँजीपतिहरुको संरक्षण गर्ने कबज बन्न पुगेको पक्कै हो । यो कबजमा दलाली गरेर खाने, नकमाएको, आर्जन नगरेको पैसाले उन्माद भएका राज्य दोहन गरेका मान्छेहरु सहभागी छन् । यिनिहरुमा कुनै चेतना पनि छैन ।
हामी त ठिकै आदर्शबाट आएका थियौँ । तर, सत्ता र शक्तिको उन्मादले आदर्शलाई तिलान्जली दिने काम भयो । हामीले लिएको आदर्शलाई बिर्सेका छैनौँ । धेरै संकटपूर्ण अवस्थाबाट बचाएर पार्टीलाई यहाँसम्म हामीले नै ल्याएका हौँ । उग्र बामपन्थ र दक्षिणपन्थ दरबारको पोल्टामा पुग्न पुग्न आँटेको पार्टीलाई जोगाएर ल्याउने त हामीहरु नै हौँ नी । केही खर्चहरु कटौती गरौँ भन्दा आज जसरी स्यालहरु मेरा विरुद्धमा खनिएका छन् नी, त्यतिबेला संघर्षका दौरानमा मण्डलेहरु पनि ममाथि त्यसरी नै खनिन्थे । जोगाई जोगाई यहाँसम्म ल्याएको सम्पत्तिलाई रामकुमारी झाँक्रीले विग्रियोस भनेर त पक्कै भनेको हैन होला नी ।
पार्टीको राजनीतिक नैतिकताको विषयमा कुरा गरौँ, तपाईको पार्टीमा विधि र नीतिको सर्वोच्चता कायम हुन सकेको छ की छैन ?
यहाँ पार्टी त आफ्नो मनमौजी चलेको छ । विधि र नीतिको हिसाबले पार्टी चलेकै छैन । पार्टी नै छैन एक हिसावले भन्ने हो भने त । पूर्ववत नेकपा एमाले र माओवादी केन्द्र विघटन भयो । तर नयाँ पार्टी नै बनेन । कागजमा केही मान्छेले नाम लेख्दैमा पार्टी बन्छ ? निर्वाचन आयोगमा दर्ता गर्दैमा पार्टी हुन्छ ? पार्टीमा जीवन हुनुपर्दैन ? पार्टी विधि र विधानले चल्नुपर्दैन भन्या क्या ! यसरी त पार्टी बन्न सक्दैन ।
तपाईले भन्नुभएजस्तै सरकार र पार्टी नेतृत्वकर्ता यहि अवस्थामा सचिएला ?
सरकारले पछिल्लो समय गरेका कामहरु ठिकै छन् । तर, ठिक गरेका कामलाई पनि जनताले ठिक बुझ्ने वातावरण बनाउनुपर्यो नी । किनभने यिनीहरुले जे ज्यादती गरिरहेका छन् त्यसको असर परेको हो । उहाँहरुले बिचौलीया, दलाल लगाएर संकटमा लुटखोरहरुलाई मौका दिनुभयो । अनि सरकारप्रति जनताको विश्वास गर्ने ठाउँ कसरी रहन्छ ? त्यसकारण उहाँहरु अब सच्चिनुपर्छ । हामी पनि सच्याउने कासिस गरिरहेका छौँ । सच्चिनुको अर्को विकल्प नै छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस