काठमाडौं-आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको आजको राजधानी दैनिकले समाचार छापेको छ ।
हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
आइतबार विहान ७ बजे गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । टाउकोबिनाको शव भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताबाट सुटकेस भेटिएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टासहितको अर्को झोला भेटेको थियो ।
सोमबार प्रहरीले मृतक कृष्णबहादुर बोहोराको तस्बिर सार्वजनिक गरेपछि उनका आफन्त प्रहरीसामु पुगेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने हत्यामा संलग्न आरोपी कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार साँझ नै चितवन टाँडीबाट पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । घटनास्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरूको उपस्थिति हुन सक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको हो ।
पौडेलसँगै उनका छोराछोरीसँग लिइएको बयानअनुसार घटनामा उनको मात्रै संलग्नता रहेको देखिएको छ । तर हत्यापछि शव फ्याँक्न भने उनले १५ वर्षकी छोरीलाई समेत साथमा लगेको अनुसन्धानमा खुलेको छ ।
शव व्यवस्थापनमा सघाएको पाइएपछि छोरीसमेत पक्राउ परेकी छिन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा भने कम उमेरको भएको र घटनाबारे कुनै जानकारी नभएकाले पक्राउ गरिएको छैन ।
प्रहरीले हत्या भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सिडिआर), छोराछोरीसँगको बयानलगायत सबैले घटनामा कल्पनाको संलग्नता पुष्टि भएको भनेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले हत्या फिल्मी शैलीबाट भएको बताए । ‘हत्या भारतीय सिरियल तथा फिल्मी शैलीबाट गरिएको देखिन्छ । आफ्नै घरमा बोलाएर खानपिन गराएर हत्या गरिएको छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने ।
आरोपीको बयान ‘दहीमा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएँ’
हत्याका अभियुक्त कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहोरालाई घरमा बोलाएर खानासँगै सिल्पिङ ट्याब्लेट खुवाएर लठ्ठिएपछि हत्या गरेको बयान दिएकी छन् ।
उनले आफ्नो कोठामा शनिबार साँझ ५ बजेतिर कृष्णबहादुर आएको र दुवै जनाले भोड्का रक्सी, दही, चिउरा खाएको तर कृष्णलाई भने आफूले दहीमा पाँचवटा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएकोे भनेकी छन् ।
उनले आफूसमेत डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेको र त्यही ट्याब्लेट दहीमा मिसाएको प्रहरीलाई दिएको बयानमा भनेकी छन् । प्रहरीसँगको बयानमा उनले फेसबुकमार्फत आफ्नो नग्न तस्बिर सार्वजनिक गर्ने र यौन सम्बन्धका लागि ब्ल्याकमेल गर्ने गरेपछि हत्या गरेको भनेकी छन् ।
सिल्पिङ ट्याब्लेटको असरले कृष्णबहादुर लट्ठ भएपछि अण्डकोषमा हम्मरले हानेर बेहोस बनाएको र त्यसपछि सलले घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त पौडेलले प्रहरीसमक्ष बयान दिएकी छन् ।
हत्यापछि पौडेल शव व्यवस्थापनतिर लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । सो क्रममा उनले शवलाई शौचालयमा लगेर टाउको र दुवै खुट्टा काटेको र त्यसपछि व्यवस्थापनमा छोरीलाई समेत साथमा लगेको भनेकी छिन् ।
प्रहरीका अनुसार पौडेलले टाउको र खुट्टाबिनाको शव सुटकेसमा राखेर राति ११ बजेपछि घरबाट करिब ५० मिटर अगाडि सडकमा रोकिराखेको दुई वटा गाडीको बिचमा सर्लाही खाद्य पसल अगाडि फालेकी थिइन् ।
त्यसपछि टाउको र खुट्टा भएको जेब्रा झोला लगेर फ्याँक्न लाग्दा पानी परेपछि उनले त्यसबखत छोरीलाई समेत साथमा लगेको प्रहरी बताउँछ । झोला फालेर फर्किएका उनीहरू कोठामा गएर सुतेको पाइएको छ ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार ज्यान गुमाउने बोहोरा गत मंसिरदेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहोरा शनिबार अपराह्न स्कुटर चढेर गेस्ट हाउसबाट निस्किएका थिए ।
फेसबुकमा चिनजान र अवैध सम्बन्ध
हत्याको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार हत्याका अभियुक्त कल्पना मुडभरी र मृतक कृष्णबहादुर बोहोराबीच करिब दुई–तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो ।
श्रीमान् विदेशमा भएको र श्रीमान् श्रीमतीबीच सम्बन्धसमेत राम्रो नरहेकाले कल्पनाको कृष्णबहादुरसँग आउजाउ बाक्लियो । कृष्णबहादुरसमेत विदेशबाट फर्किएका र दुई श्रीमती भए पनि दुवै श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । यसबीचमा उनीहरूबीच अवैध सम्बन्ध गाँसियो ।
पछिल्लो समय बोहोराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्बिरहरू पठाइदिने गरेको पौडेलले प्रहरीसँगको बयानमा भनेकी छन् ।
फेसबुकमार्फत नग्न तस्बिरहरू अरूलाई पठाइदिने र जथाभावी सार्वजनिक गर्दै आफूलाई ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको बयानका क्रममा पौडेलले भनेकी छन् । सोही कारण आफूले हत्या गरेको उनले बताएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस