भागरथीले प्रयोग गर्ने मोबाईलको सबै डाटा ‘रिकभर’ गर्दै प्रहरी
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टले प्रयोग गर्ने गरेको मोबाइलका सबै डाटा प्रहरीले ‘रिकभर’ गर्ने भएको छ ।
मोबाईलमा भएका सबै डाटा रिकभर गर्न प्रहरीले पलह थालिसकेको बैतडी प्रहरीले जानकारी दिएको छ । भागरथीले प्रयो गर्ने मोबाईलमा भारतीय सीम कार्ड पनि रहेको बताईएको छ तर, बैतडी प्रहरी प्रमुखले यसको अहिले पुष्टि गर्न नमिल्ने बताउनुभयो ।
शनिबार पोष्टमार्टम भयो, रिपोर्ट आउँन बाँकी
पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याईएको भागरथी भट्टको शवको शनिबार पोष्टमार्टम भएको छ । पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउने छ भने भेजाइनल स्वाब फरेन्सीक ल्याबमा प्रहरीमार्फत पठाईने जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोले धेरै कुरा भन्न नमिल्ने डाक्टर जोशीले बताउनुभयो । “ बाहिर जे जस्तो घाउ देखिएको छ । यौनीबाट रगत बगेको छ त्यति नै हो,” डाक्टर जोशीले भन्नुभयो, “थप कुरा भन्न मिल्दैन ।”
दोषी पत्ता नलागेसम्म परिवारले शव नबुझ्ने
परिवारका सदस्यले हत्याका दोषी पत्ता नलागेसम्म भागरथीको शव नबुझ्ने बताएका छन् । परिवारका काका नाता पर्ने शिवराज भट्टले हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने बताउनुभयो ।
भागरथीका काका शिवराज भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा हत्याको अनुसन्धान गरिपाउँ भनि जोहेरी दिनुभएको छ ।
भगरथीका दाइ केशव आईतबार घर फर्किए
बहिनीको हत्याको खबर सुनेपछि रोजगारीका लागि भारत गएका केशवराज भट्ट आईतबार घर पुग्नु भएको छ ।
बहिनीको हत्यापछि आमा द्रोपति घरमा एक्लै हुनुहुन्छ । उहाँ छिनछिनमा बेहोस् हुने गरेको शिवराज भट्टले बताउनुभयो । भागरथीले पालेका बाख्रा र गाई वस्तुलाई घाँस दिने मान्छेसमेत नहुँदा वस्तुभाउसमेत आँगनमा कराईरहेको उहाँले बताउनुभयो ।
दुई महिना अघि उपचारको क्रममा बुबाको मृत्यु भएपछि घर खर्च चलाउन यही माघ ४ गते पढाई छोडेर केशवराज भट्ट रोजगारीका लागि भारत जानु भएको थियो ।
“बुवाको मृत्युपछि घरमा आमा र बहिनीलाई छोडेर घर खर्च चलाउन भारत गएको थिए,” भक्कानिदैं केशवले भन्नुभयो,“ कुन पापीको आँखा लाग्यो होला ? फूल जस्ती मेरी बहिनीलाई निमोठेर संसार ध्वस्त बनाई दियो । दोषी पत्ता नलागेसम्म हामी घरमा ढुक्कले कसरी बस्न सक्छौं ? चाँडो दोषी पत्ता लगाउन हाम्रो माग छ ।”
दोषी पक्राउको माग ठाउँ ठाउँमा नाराजुलुस
भागरथीको हत्याका दोषी पक्राउको माग गर्दै शनिबार दोगडाकेदार गाउँपालिकाका स्थानीयले महाकाली लोकमार्गको बैतडी–दार्चुला सडक खण्डमा घ घण्टा चक्काजाम गरेका छन् ।
आईतबार बैतडी सदरमुकाममा विद्यार्थीहरुले भागरथी हत्याका दोषी पत्ता लगाउन माग गर्दै ससदरमुकाममा बिरोध र्याली निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस