काठमाडौं – बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् । पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ ।
परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पायल बताउँछिन् । उनी भन्छिन्, ‘छोराको शिक्षा र पतिको जागिरका कारण राजधानी बसेका छौं । महँगीले गाउँ फर्कनुपर्ने अवस्था आयो ।’
झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चामल, दाल, तरकारी, घरभाडा बढेको बढ्यै छ । एकजनाको आम्दानीले राजधानीमा बाँच्न असहज भयो ।’ उनका अनुसार यातायात, औषधिउपचार, लुगाफाटो र मनोरञ्जनबाहेक घरखर्च धान्न मासिक न्यूनतम ३५ हजार खर्च हुन्छ ।
पायल र निर्मलाले अनुभव गरेजस्तै बजार निकै अराजक बनेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।
सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।
‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य अवस्था बुझ्न अनुगमन टोली परिचालन गरेका छौं । टोलीले दिने सुझावका आधारमा कार्टेलिङ र कालोबजारी गर्ने व्यवसायी र उद्योगीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
नेपाल खुद्रा व्यापार संघका अनुसार चामलको भाउ प्रतिबोरा एक सय २५ देखि एक सय ७५ रुपैयाँ बढेको छ ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले बोराको एक हजार चार सय ५० मा पाइने २५ किलो सोना मन्सुलीको मूल्य अहिले एक हजार पाँच सय ७५ पुगेको छ । यस्तै एक हजार ६ सय रुपैयाँ पर्ने जिरा मन्सुलीको एक हजार सात सय ७५ मा पुगेको छ ।
संघका अनुसार सबै प्रकारका खाने तेलको मूल्य बढेको छ । एक सय ३५ रुपैयाँ प्रतिलिटर पाइने भटमासको तेलको मूल्य एक सय ५० पुगेको छ । यस्तै एक सय ३४ मा आउने सनफ्लावर तेलको मूल्य एक सय ६० पुगेको छ ।
एक सय ५० रुपैयाँमा आउने तोरी तेलको मूल्य एक सय ६० र एक सय ३० पर्ने प्याकेट घिउको मूल्य एक सय ४० मा पुगेको छ । मासको दालमा प्रतिकिलो १५ रुपैयाँ, मुसुरो दालमा ३० रुपैयाँ, रहर दालमा १० र मुङ दालमा २० रुपैयाँ बढाइएको छ ।
‘पछिल्लो दुई सातायता केही वस्तुको मूल्य बढेर आएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा हामीले तत्कालै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।’ अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस