धनुषा – राजधानी काठमाडौंबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ ।
भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौं आउने मौजुदा दूरी घटाउने भएको हो ।
तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जंगलबाट काठ ओसार्नका लागि विक्रम संवत् १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो ।
पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो । जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए । उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिए । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा शुरू भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ ।
जनकपुर–जयनगर रेलमार्गको निरीक्षणका क्रममा उनले जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए । मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको मंगलवार निरीक्षण गरे । उनले सो रेलमार्गअन्तर्गत नेपालतर्फको अन्तिम स्टेसनका रूपमा रहेको इनर्वाको नजिकमा बाढीले बगाएको रेलवे लिकको निरीक्षण गरे । गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पुर्याएको थियो ।
निरीक्षणका क्रममा उनले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिए । बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उनले स्पष्ट पारे । सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ ।
यसअघि उनले जनकपुर रेलवे स्टेसनको निरीक्षण गर्दै रेलसेवा सञ्चालनका लागि बाँकी रहेका संरचनाहरूको निर्माण समयमा सम्पन्न गर्न तथा रेलवेको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन कारबाही अगाडि बढाउन निर्देशनसमेत दिए ।
भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्म सञ्चालनमा ल्याइने सो रेलमार्गको अहिलेसम्म रेलवे लिक बिछ्याउने काम सम्पन्न भएको छ । ट्रयाक वेड, दुवैतर्फ स्टेसन, कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीका लागि आवासगृह लगायतको आवश्यक संरचनाको निर्माण कार्य भइसकेको छ ।
भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा यस रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सरकारले यसअघि नै सो रेलसेवा सञ्चालन गर्न दुईवटा डेमो रेल खरिद गर्नका लागि करीब ८५ करोड रुपैयाँ निकासा गरिसकेको छ । सो रेल अहिले भारतको मद्रासमा निर्माणाधीन अवस्थामा रहेको रेल विभागले जनाएको छ ।
मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ । यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’मात्र रहेको थियो । २ फिट ६ इन्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा ८ स्टेसन र ६ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस