काठमाडौ-नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थितिमा आज शुरु भएको विचारधारात्मक प्रशिक्षण त्यसैको सङ्केत हो ।
नेता, कार्यकर्ता र सञ्चारकर्मीको खचाखच उपस्थिति देखिएको प्रशिक्षणको शुभारम्भका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको बताउनुभयो । नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उहाँले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गर्नुभयो ।
दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।
“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”
आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”
चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयो । उहाँले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाउनुभयो ।
प्रधानमन्त्रीकै भनाइमा मिल्दो मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”
उहाँले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाउनुभयो । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उहाँको भनाइ थियो ।
उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक वहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बताउनुभयो । उहाँले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिनुभयो ।
आजै नेपाल आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस