काठमाडौँ-बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो ।
तर, तीन दशकमै धेरै कुरा फेरियो । बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का असार–साउनमा धान रोपाइँ गर्दा हरियाली र मङ्सिरमा सुनौलो हुने फाँट अहिले कङ्क्रिटको सहरमा परिणत भएको छ ।
बाह्रैमास पानी आउने धाराहिटीको नामोनिसान छैन । उहाँ भन्नुहुन्छ, ‘बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए । हुँदा–हुँदा अहिले यज्ञमति र चखुँचाखोलालाई अन्डरग्राउन्ड ह्युमपाइपमा हालेर त्यसको अस्तित्व नै कथाजस्तो लाग्ने अवस्था आएको छ ।’
बूढानीलकण्ठको जगडोलबाट सुरु भई धोबीखोलामा मिसिने चखुँचाखोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन । बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बूढानीलकण्ठ–१० मै उहाँको घर छ । घरअगाडि काठमाडौँ महानगरपालिका–७ पर्छ ।
तर, संयोग उहाँका श्रीमान् दीपककुमार श्रेष्ठले जहाँ घर बनाउनुभएको छ, त्यो ठाउँमा पहिले चखुँचाखोला बग्थ्यो । अहिले घरअगाडि कच्ची सडक छ ।
भित्री सतहमा चार–चार फिटका ह्युमपाइप बिच्छ्याइएको छ । श्रेष्ठले २०६७ मा प्लटिङ गर्ने व्यक्तिसँग किनेर २०६८ मा घर बनाउनुभएको हो । उहाँले भन्नुभयो, “नापीमा बुझ्दा ३० फिटको बाटो भएको प्लटिङको जग्गा हो भन्ने देखाएपछि मैले किनेको हो । नापीमा अहिले पनि यो जग्गा खोलाको हो भन्ने प्रमाणित छैन, नम्बरी रैकर जग्गा भनेर दर्ता छ ।”
बूढानीलकण्ठ–१० कै साततले चोकमा व्यापारिक भवन छ ‘विशाल ट्रेड टावर’ । सँगै जोडिएको छ, अर्को आलिशान भवन । विशाल ट्रेड टावरका मालिक विक्रम श्रेष्ठले एक वर्षअघि मात्रै यो भवन किनेको बताउनुभयो । अर्को भवन स्थानीय तारा रायमाझीको हो ।
श्रेष्ठको घरले चखुँचाखोलाको आधा भाग छोपेको छ । बाढी आउँदा खोलाले आसपासका क्षेत्र डुबाउने गरेको छ । श्रेष्ठले भन्नुभयो, “मैले एक वर्षअघि मात्रै यो घर किनेको हो । नक्सा पास छ, पहिल्यै गाविसले स्वीकृति दिएर बनेको घर हो । अहिले मैले बाहिर मर्मत मात्रै गरेको हो । पहिले के–के भएको थियो, मलाई थाहा भएन ।”।
बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईका अनुसार यज्ञमति र चखुँचाखोला पुर्न त्यही खोलाको बालुवा बेचिएको थियो । उहाँका अनुसार बस्ती विस्तारका क्रममा घरबाट निस्किने ढल सीधै खोलामा हालेपछि दुर्गन्ध फैलियो ।
उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा खोलाको समस्या खासै भएन तर हिउँदमा खोलामा ढल बग्ने र दुर्गन्ध फैलिन थालेपछि खोलाको बालुवा बेचेर आएको र स्थानीयवासीले सङ्कलन गरेको पैसाले खोला पुरिएको हो ।”
पूर्वजलस्रोतमन्त्री एवं प्राज्ञ दीपक ज्ञवालीले साना–ठूला भूमाफियाको खोला मास्ने कार्यमा स्थानीय निकाय पनि प्रत्यक्ष संलग्न रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो क्षेत्रमा पैदल हिँडेर अध्ययन गरेको छु, पहिले म यहीँको बासिन्दा हुँ । यो प्रस्ट छ कि, चखुँचा र यज्ञमति खोला मास्ने कार्यमा त्यहाँका व्यापारीदेखि सरकारी संयन्त्रका उच्च ओहोदाकै मानिस संलग्न छन् ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस