दिक्तेल- खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ।
गत पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा लागू गरिएको दिवाखाजा कार्यक्रमका लागि पुस र माघ महिनाको रकमसमेत वितरण शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए। “गाउँपालिकामा १६ प्रावि, ५ आधारभूत र ७ माविमा १ हजार ६१४ विद्यार्थी अध्ययनरत छन्”। “प्रतिविद्यार्थी रु १० का दरले उनीहरुको अभिभावकलाई विद्यालयमा बोलाएर दिवाखाजावापतको भत्ता रकम प्रदान गर्ने गरिएको छ।” गाउँपालिका प्रमुख निरौलाले भने।
६ वडा रहेको रावाबेँसी गाउँपालिकाको सबै विद्यालयका छात्रछात्राका अभिभावकलाई आगामी फागुन १९ गतेसम्म पुस र माघको दिवाखाजावापतको भत्ता रकम वितरण गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई रोटी, गेडागुडी, खाना, चाम्रे, सातु, सागसब्जीका परिकार तथा फलफूललगायत खाजाका रूपमा पठाउने र सोवापत गाउँपालिकाले खर्च दिने विद्यालयमा आधारित दिवाखाजा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ।
गत मङ्सिर १९ गते दिवाखाजा सञ्चालन कार्यविधि पारित गरेको गाउँपालिकाले विद्यार्थीलाई बिस्कुट, चाउचाउ, भुजिया, दालमोटजस्ता जङ्कफुड (पत्रु खाना) जन्य खाजाका रूपमा खुवाउन र पठाउन बन्देज लगाएको छ। विद्यार्थीका आमालाई भेला गरेर खाजाको सूची तयार पारेको र सोहीअनुसार खाजा तयार पारेर पठाउन भनिएको छ।
विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएपछि विद्यार्थी नियमित भएको र कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको गाउँपालिका उपप्रमुख समला राईले जानकारी दिए। “दिवाखाजा कार्यक्रम लागू भएको छोटो समयमै सकारात्मक प्रभाव देखिएको छ”। “दिउँसै कक्षा छाडेर हिँड्ने सङ्ख्यामा पनि कमी आउनुका साथै उनीहरुको पढाइमा समेत उत्साह थपिएको पाइएको छ।” उपप्रमुख समला राईले भनिन।
दैनिक रु १० का दरले दिवाखाजावापतको भत्ता दिँदा गाउँपालिकाबाट विनियोजित रकमले करिब ६५ दिन मात्र पुग्ने देखिएको शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताएका छन्। शिक्षा शाखा संयोजक दाहालका अनुसार अन्य दिनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिन पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ। दिवाखाजा कार्यक्रमको निरन्तरता दिन वित्तीय समानीकरणअन्तर्गतको बजेटका लागि राष्ट्रिय योजना आयोगसमक्ष माग गरिएको गाउँपालिकाले जनाएको छ। विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम शुरु गरिएपछि प्रदेश सरकारले विद्यार्थीलाई खाजा ल्याउने भाँडा उपलब्ध गराउने भएको छ।
जिल्लाका सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजा पठाउने चलन कमै मात्र छ। १० स्थानीय तह रहेको खोटाङ जिल्लामा दिवाखाजा कार्यक्रम लागू गर्ने रावाबेँसी गाउँपालिका पहिलो स्थानीय तह हो। जिल्लामा ९१ मावि, ६७ आधारभूत र ३३५ प्राविगरी ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन्। रावाबेँसी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिलेसम्म दिवाखाजा कार्यक्रम लागू भएको छैन।
जिल्लाका कतिपय ठाउँमा सञ्चालित सामुदायिक विद्यालय जान पैदल तीन घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । बिहान ७ बजे विद्यालय गएका विद्यार्थी बेलुका ८ बजे मात्र घर पुग्ने हुँदा कतिपयले बीचैमा विद्यालय छाड्ने गरेका छन् ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस