साेल – कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ । कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको हो । कोरियामा श्रमिक आपूर्ति गर्दै आएका नेपालसहित १६ देशको संक्रमण अवस्थालाई हेरेर कोरिया सरकारले रोजगारी सुचारु गर्ने जनाइरहेका बेला पहिलो प्राथमिकतामा यस्ता कामदारलाई राखिने भएको हो ।
एचआरडी कोरिया र नेपालका प्रतिनिधिबीच पटक–पटक भएको छलफलमा कोरिया प्रवेश गराउने मोडालिटी, परीक्षालगायतका विषयमा समेत छलफल भएको छ । रोजगारदाता परिवर्तन नगरी नियमित पाँच वर्षसम्म एउटै रोजगारदाताकोमा काम गर्नेलाई प्रतिबद्ध कामदारका रूपमा लिइन्छ ।
कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाए पनि जाने प्रक्रिया भने हुन सकेको छैन ।
मानव संशाधन बोर्ड कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको छ । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्यव्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ ।
कोरियाले तत्कालका लागि प्रवेशमा रोक लगाए पनि अन्य श्रम सम्झौता, भिसा इस्यु, रोजगार इस्युलगायतका काम भने गरिरहेको छ ।
कोरियन पक्षले कुन मितिमा नेपाली श्रमिक लैजानेबारे जानकारी नदिए पनि पहिलो चरणमा भिसा लागेर जाने तयारीमा रहेका प्रतिबद्ध कामदार र त्यसपछि नयाँ श्रमिकलाई लैजाने अनौपचारिक जानकारी दिएको छ । हाल नेपालबाट कोरिया प्रवेशको प्रतीक्षामा लगभग १ हजार ६ सय प्रतिबद्ध कामदार रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले जानकारी दिए ।
यसैगरी कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरेर कोरिया प्रवेशको तयारीमा रहेका लगभग ५ हजार नेपालीलाई पनि प्राथमिकतामा राखेर लैजाने कोरियाको तयारी छ । कोरोनाका कारण श्रम सम्झौता गरेर कोरिया प्रवेश नपाएर रोस्टरको म्याद समाप्त भएका नेपाली युवाको समय थप गर्नेबारेमा समेत नेपाल पक्षले अनुरोध गरेको प्रमुख गौतमले जानकारी दिए ।
कोरोना संक्रमणका समयमा कोरिया प्रवेश गर्न नपाई भिसाको म्याद समाप्त भएका नेपालीको म्याद ३÷३ महिनामा नवीकरणसमेत गरिरहेको छ । चैतयता अन्य श्रम गन्तव्यमा नेपाली युवा जान सुरु गरे पनि कोरिया जाने तयारीमा बसेका कोही पनि युवा जान पाएका छैनन् । संक्रमणका कारण समयमा कोरिया प्रवेश गर्न नपाएका कारण कतिपय रोजगारदाताले नेपालीको श्रम सम्झौता समेत रद्द गरेका छन् । श्रम सम्झौता रद्द भएका युवालाई भने कोरिया प्रवेशमा प्राथमिकता दिइँदै आएको छ ।
कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाइरहेको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस