काठमाडौं-क्लिनरको भिसामा गत वर्ष दुबई उडेकी झापाकी मुना मगर अहिले सडकमा अलपत्र छिन् ।
दुई वर्षका लागि वैदेशिक रोजगारमा गएकी उनलाई कम्पनीले शनिबार बिहान कोठाबाट निकालेको छ । ‘कम्पनीले सामानसहित कोठाबाट निकालिदियो । अहिले सडकमै अलपत्र छौँ,’ मुनाले टेलिफोनमा भनिन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
नेपालमा आयस्रोत केही नभएपछि परिवारको गर्जो टार्न ऋण निकालेर उनी दुबई गएकी थिइन् । दुबईको शारजहास्थित सिडिमेड क्लिनिङ कम्पनीले उनीसँग आठ घन्टा ड्युटी, १३ सय रियाल तलब, ओभरटाइमको सुविधा र बिमाको पनि व्यवस्था हुने सम्झौता गरेको थियो । त्यसैले दुई वर्ष दुःख काटेर भए पनि धेरथोर पैसा लिएर आउने उनको सपना थियो ।
तर, दुबईको जागिर सोचेजस्तो भएन । अस्पताल र विद्यालयमा क्लिनरको काम गर्ने सम्झौता भए पनि दुबई पुगेपछि मुनाले दिनमा दुईदेखि तीनवटा ठूला घर सफा गर्नुपर्ने भयो ।
दिनमा १६ घन्टासम्म काम गर्दा पनि ओभरटाइमको कुनै सुविधा नदिएको उनले बताइन् । ‘उल्टो स–सानो गल्तीमा पनि तलबबाट जरिवाना काट्दा महिनाको अन्तिममा ६ देखि आठ सय रियाल मात्रै हात पर्न थाल्यो,’ उनले भनिन् ।
कम्पनीसँग यस विषयमा उनले धेरैपटक गुनासो गरे पनि केही सीप लागेन । झन् उल्टै कम्पनीमा उजुरी गरेको भन्दै फिलिपिनो सुपरभाइजरले दैनिक शारीरिक यातनासमेत दिएको उनले बताइन् ।
त्यसपछि कम्पनीबाट राजीनामा दिएकी उनी चार महिनादेखि उद्धारको पर्खाइमा थिइन् । अहिले भने बस्न दिएको एउटा कोठाबाट पनि निकालेको उनले गुनासो गरिन् । ‘कम्पनीले शनिबार बिहानै निकालेको हो, सडकमै छौँ । दूतावासले पनि वास्ता गरेन,’ मुनाले दुःखेसो पोखिन् ।
संखुवासभाकी अभिस्ना बस्नेत पनि एक वर्षअघि क्लिनरकै भिसामा युएईको सिटिमेड कम्पनीमा पुगेकी थिइन् । गल्फ इनोभेसन ग्रुप नेपाल म्यानपावर कम्पनीमार्फत युएई पुगेकी उनले पनि सम्झौताअनुसार पारिश्रमिक, आवास र अन्य सेवासुविधा भने पाइनन् । ‘सम्झौता गर्दा राम्रै सुविधा दिने भनिएको थियो, युएई पुगेपछि सम्झौताअनुसार कुनै पनि सुविधा दिइएन,’ उनले भनिन् ।
दैनिक १८ घन्टासम्म काम गरेकी अभिस्नालाई ड्युटीमै रहँदा दुर्घटना हुँदा पनि कम्पनीले उपचार गरेन । ‘कम्पनीको सुपरभाइजरबाट दैनिक अमानवीय व्यवहार भयो । सहन नकसेपछि राजीनामा दिएँ,’ उनले भनिन् । त्यसपछि भने उनी पनि मुनासँगै सडकमा पुगेकी छन् ।
उनीहरूसँगै अन्य आठजना नेपाली महिला श्रमिक यही समस्याबाट गुज्रिरहेका छन् । शनिबार बिहानदेखि सनम खत्री, शर्मिला दाहाल, हेममाया मगर, रेणु मगर, निशा तमाङ, रौश्ना खातुन र अरुणा लामा पनि सकडमै छन् । चार महिनाअघि राजीनामा दिएपछि कम्पनीले कोठाबाट निकाल्न खोजेको थियो । तर, धेरै अनुनयविनय गरेपछि बस्नलाई एउटा कोठा दिएको थियो । ‘अहिले त्यही कोठाबाट पनि निकालिदियो, सडकमै बसिरहेका छौँ,’ मुनाले भनिन् ।
कम्पनीले कोठाबाट निकालेपछि उनीहरूले नेपाली दूतावासमा सम्पर्क गरेका थिए । तर, दूतावासले बेवास्ता गरेको उनीहरूले गुनासो गरेका छन् । दूतावासले भने उनीहरूको उद्धारको प्रक्रिया सुरु गरेको बताएको छ । युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता धितालले अलपत्र परेका महिला श्रमिक सम्पर्कमा आएको बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस