बेझाड– पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ ।
यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा खपत हुने गरेको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।
पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको हो । यसै वर्ष रामपुरमा स्थापना गरिएको सो उद्योगमा हालसम्म करिब रु एक करोड जति लगानी भएको छ ।
दुई सय रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैको घाँसबाट साइलेज बनाउन थालिएको छ । साइलेज पशुलाई खुवाएमा दूध उत्पादन वृद्धि हुने, पशुको नश्ल सुधार हुने हुँदा पशु उत्पादन राम्रो मानिन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सजिलो पर्नेछ ।
सो उद्योगबाट पहिलो पटक उत्पादन भएको ३५ टन साइलेज बुटवल, पोखरा, स्याङ्जा, भैरहवा, पाल्पा लगायतका विभिन्न जिल्लामा खपत भइसकेको छ । दोस्रो पटक उत्पादन गरिएको साइलेज अहिले बिक्री गर्ने कार्य भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउछन ।
“परीक्षणका रुपमा पहिलोपटक उत्पादन गरिएको साइलेज राम्रो भएपछि अहिले धेरै माग आएको छ, ठूला ठूला व्यावसायिक फार्ममा बिक्री भइरहेको छ”, उनले भने । यहाँ उत्पादन भएको साइलेज प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । साइलेजको माग बढ्न थालेपछि जग्गा थप गरेर उत्पादन बढाउने र यहाँ उत्पादन भएको साइलेजले ५ नम्बर प्रदेशलाई पुर्याउने अर्का सञ्चालक रामप्रसाद पोखरेलले बताए ।
“साइलेजको माग बढेकाले जग्गा बढाएर उत्पादन बढाउने र बाहिरबाट ठूलो परिमाणमा भित्रने साइलेजलाई निरुत्साहित गर्ने अभियानका साथ व्यवसायमा लागेका छौँ”, पोखरेलले भने । बाहिरी जिल्लामा ढुवानीसहित प्रतिकिलो रु १३ मा फार्ममै साइलेज पुर्याउने सुबिधा र उत्पादित साइलेज राम्रो भएपछि ठूला पशुफार्म व्यवसायी रामपुरको साइलेजमा आकर्षित हुन थालेका हुन् ।
सङ्घदेखि स्थानीय तहसम्म औद्योगीकरणको विकास प्राथमिकतामा राखिएका अवस्थामा रामपुर नगरपालिकामा ठूलो लगानीमा थालनी गरिएको यस उद्योगमा आकर्षण बढेको छ । उद्योग सञ्चालनमा आएपछि यहाँका स्थानीयले रोजगारी समेत पाएका छन् ।
रामपुरका अगुवा भैंसीपालक कृषक कृष्णकुमार अर्यालले यसभन्दा अगाडि आफ्नै ढुवानीमा प्रतिकिलो रु १५ मा भारतको पन्जाबबाट साइलेज खरीद गरेर पशुुलाई खुवाउँदै आएका थिए । रामपुरमै उत्पादन भएपछि साइलेज खरिदका लागि अन्यत्र भौतारिनु नपरेको अर्याल बताउछन ।
“साइलेज खरीद गर्न आउन जानको झण्झट, समयको बर्बादी, अहिले गाउँघरमै जति भने पनि पाइएको छ, बाहिरबाट ल्याएको साइलेज र यहाँ उत्पादन भएको साइलेजमा कुनै फरकपन छैन, धेरै सजिलो भएको छ”, अर्यालले भने ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषि फार्म र पाल्पाको कामधेनु गाईफार्मलाई २५÷२५ लाख गरी रु ७५ लाख अनुदान उपलब्ध गराएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ५ रुपन्देहीका सूचना अधिकारी डा भक्त निउरेले बताए ।
प्रदेश नं ५ का १२ जिल्लामै सानासाना मेशिनबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगको रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको उनको भनाइ छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । बजारमा अहिले प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि बनाउन सकिन्छ ।
साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुदा साइलेजप्रति कृषकको आकर्षण बढेपनि उत्पादन कम हुँदा पुर्याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाँच्छाबाँच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैसीलाई खुवाउने गरिन्छ ।
साइलेज उत्पादन शुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउन थालेका छन् । रामपुरमा नयाँ प्रविधिका रुपमा साइलेज उत्पादन शुरु भएपछि पशुपालन गर्ने कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस