भद्रपुर- लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गरेका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राखछन् । कोभिड–१९ को सङ्क्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ ।
“बारीभरि टमाटर पाकेर राताम्य छन्, बिक्री छैन”, बन्दाबन्दीको मार खेपिरहेका दङ्गालले भने, “सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।” उनले रु चार लाख खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् ।
कोराना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौँ खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर बिक्री वितरण गर्न नसक्दा उनीहरु ऋणमा डुबेका हुन् । “यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन”, उनले भने, “टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।”
उनका बारीमा यतिबेला एक हजार क्विन्टलभन्दा बढी टमाटर पाकेका छन् । भतिजा दिपेश दङ्गालले बर्सेनि टमाटरबाट राम्रो आम्दानी गरेको देखेर उनले पनि यस वर्षदेखि टमाटर खेती शुरु गरेको बताउँछन् ।
टमाटर खेतीमा होमिनुभएका मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनले दुई वर्षअघिदेखि दुई बिघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकोभी र मकैलगायतको खेती गरिरहेका छन् । महेन्द्र राजमार्गको धाइजनमोडबाट एक किलोमिटर दक्षिणमा एक बिघा जमीनमा रोपेका १८ हजार टमाटरको बिरुवाबाट ५० क्विन्टल टमाटर फलेको अनुमान छ ।
बन्दाबन्दीका कारण उहाँले उत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा बिचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपालि कोही नआएको उनको भनाइ छ । “वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो”, उनले भने, “यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।”
उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरुको आरोप छ । “हामी दुःख गरेर उत्पादन गछौँ”, राईले भने, “गाउँ डुलाएर बेच्ने आफूसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकामा दुःख लागेको छ ।”
मेचीनगर नगरपालिकाको १, २ र ३ नं वडाका किसानले २० बिघाभन्दा बढी जमीनमा व्यावसायिकरूपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताउँछन् । उनका अनुसार अधिकांश किसानले जग्गा लिजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि दुई बिघासम्ममा टमाटर लगाएका छन् । उनीहरु सबैको लगानी यसपालि बन्दाबन्दीले गर्दा डुबेको छ ।
“वर्षौँदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे”, उनले भने, “शुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरु आउन मानेनन् ।” उनले टमाटर बिक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुन थालेको बताए ।
हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई–तीन दिनपछि बोटमै कुहिने उनले बताए । गत वर्ष प्रतिकेजी रु ४० मा बिक्री हुँदै आएको टमाटर यस वर्ष भने प्रतिकिलो रु सात दिँदासमेत बिक्री नभएको किसान बताउँछन् ।
विगतमा विर्तामोड, धरान, विराटनगरका व्यापारी आफैँ आएर राम्रै दाम दिएर लैजाने गरेको टमाटर यस वर्ष किसानले कयौँपटक बोलाउँदासमेत कोही नआएको गुनासो छ । “विर्तामोडको कृषि थोकसम्म पुर्याउँदा प्रतिक्यारेट रु २५० देखि ३०० सम्म दिन्छन्”, उनले भने, “त्यसमा पनि व्यापारीलाई १० प्रतिशत कमिसन दिँदा प्रतिकेजी रु सात पनि किसानको भागमा पर्दैन ।” यसपालि कृषि थोक बजारसम्म उत्पादनलाई पुर्याउन नपाउँदै नोक्सानी भएको किसानहरुको गुनासो छ ।
एक क्यारेटमा २३ केजी हुने किसानको भनाइ छ । बजारमा यतिबेला व्यापारीले मूल्य रु ३५ देखि ४० सम्ममा टमाटर बिक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा बिचौलियाले लिने गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरुले टमाटर बिक्रीका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस