वर्ष २०१७ जाँदाजाँदै कोरियाली प्रायद्वीपमा एउटा निकै ठूलो परिवर्तन भयो । आणविक कार्यक्रमलाई लिएर आफ्नो जिद्दीमा अडिएका उत्तर कोरियाली नेता किम जोङ उनले केही नरमपना देखाउँदै आफ्नो छिमेकी देशसित सम्बन्ध सुधार्ने संकेत दिए । उत्तरले दक्षिणको आयोजनामा भइरहेको शीतकालीन ओलम्पिकमा आफ्नो टोली पठाउने निर्णय गर्यो र एक कदम अघि बढ्दै उसले उद्घोष गर्यो कि उद्घाटन समारोहमा दुवै देशका टोलीले एउटै झन्डामुनि मार्च गर्नेछन् ।
किम जोङ उनले ओलम्पिक उद्घाटनका लागि आफ्नी बहिनीलाई प्योन्चाङ पठाए र फर्किएपछि उनकी बहिनीले जुन रिपोर्ट बुझाएकी छिन्, त्यो उनलाई मन पनि पर्यो । उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरियाका टोली एउटै झन्डामुनि मार्च गर्नु नै संसारका लागि निकै ठूलो सन्देश हो । जुन झन्डामुनि यी टोली थिए, त्यसमा सेतो पृष्ठभूमिमा एकीकृत कोरियालाई देखाइएको थियो ।
आफ्नो विगत र साझा इतिहास सम्झेर उत्तर कोरियाका शीर्ष अधिकारीहरूका आँखा रसाए । जब दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र किम जोङ उनकी बहिनी किम यो जोङ एकसाथ बसे, त्यतिखेर दुवै देशबीचको दूरी कम देखियो । उनकी बहिनी यो जोङ त्यहाँ संयुक्त महिला आइस हकी टोलीको हौसला बढाउन उपस्थित थिइन् । सो अवसरमा उत्तर कोरियाका चियरलिडर्सले संसारभरबाट त्यहाँ पुगेका दर्शकको उत्साह वृद्धि गरिरहेका थिए ।
नयाँ मित्रता हजम हुन कठिन
तर, के शीतकालीन ओलम्पिकबाट सम्बन्धमा आएको यो न्यानोपन लामो समयसम्म कायम रहला त ? यो लाख रुपैयाँको प्रश्न हो । जसको उत्तर सायद संसारभरका हरकोही पाउन चाहन्छन् । उत्तर र दक्षिण कोरिया खेलको बहानामा एकअर्काको नजिक आएको समाचार संसारका हरेक कुनामा चर्चाको विषय बन्यो । तर, उत्तर र दक्षिण कोरियाबीचको यो नयाँ मित्रता दक्षिण कोरियामा धेरैलाई हजम भइरहेको छैन । यस्तो सोच्नेहरूको भनाइ छ कि मुन सरकारले उत्तरसित मित्रताको हात बढाएर अमेरिकासित आफ्नो दूरी बढाएको छ ।
परम्परावादीहरू यति धेरै हतोत्साहित भएका छन् कि दक्षिण कोरियाका दक्षिणपन्थी मिडिया आफ्ना सम्पादकीयमा नियमित रूपमा उत्तर कोरियाको चर्चामा आपत्ति जनाइरहेका छन् । एउटा चिन्ता यो पनि छ कि उत्तर कोरियाले आफ्नो आणविक तथा मिसाइल कार्यक्रममाथि रोक लगाउने वाचा गरेर त्यसको बदलामा दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास रोक्नुपर्ने माग गर्न सक्छ । यथार्थ यो हो कि अपेक्षा हरेक पक्षबाट गरिँदै छ । साथै जोकोही अवस्था थप खराब नहोस् भन्ने नै चाहन्छन् । खेल महोत्सवले दुवै देशलाई निकट ल्याउने मञ्च दिएको पक्का हो । तर, यत्ति प्रयासबाटै राजनीतिक गतिरोध एकदम छुमन्तर भएर जाला भन्नेमा भने सन्देह छ ।
अविश्वास
दशकौँदेखि चलिरहेको कुराकानी परिणामहीन रहँदै आएका छन् । अत्यन्त धेरै उदासी र अविश्वासका कारण यस प्रायद्वीपमा तनाव र असहजता स्थायी रूपमै बढ्न गयो । ६५ वर्षअघि भएका कोरियाली युद्धपछि यी दुवै देशबीचको सम्बन्ध लगभग एकैप्रकारका र स्थायी रहेका छन् । उत्तर कोरिया निश्चित रूपमा संसारकै सबैभन्दा खतरनाक देश हो । यसको कारण उसको आणविक कार्यक्रम नै हो । किम जोङ उनको भण्डारमा आणविक हतियार भएका कारण यसको खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।
के उत्तर कोरियाका व्यवहार या नीतिमा परिवर्तन रातारात आयो र ऊ दक्षिण कोरियासित मित्रताका लागि तीव्र रूपमा उत्सुक छ त ? उत्तर कोरिया पहिले पनि वार्ताको टेबलमा बसिसकेको छ र कैयौँ चरणका कुराकानीबाट कुनै परिणाम निस्कन सकेको छैन । उत्तर कोरियाली अत्यन्त चलाख हुन्छन् र मोलतोलमा निकै सिपालु हुन्छन् । उनीहरू हरेक इन्चका लागि लड्छन् र हरेक खराब विषयबारे निकै लामो समयसम्म शोक मनाइरहन्छन् ।
उत्तर कोरियासितको मेलमिलाप यति सजिलो छैन । आफ्नो आणविक कार्यक्रमलाई लिएर कुनै संवाद नै गर्न तयार नहुने उत्तर कोरिया अहिले केही कदम त पक्कै अघि बढाइरहेको छ । उत्तर कोरियामा वामपन्थी विचारधाराका मानिसलाई आफ्नो सरकारले यस अवसरलाई बेकार खेर जान नदिने पूर्ण विश्वास छ । तर, राष्ट्रपति मुन यस मार्गमा कति अघि बढ्न सक्छन्, यसबारे अहिल्यै अनुमान लगाउनु बढी नै हतारो हुनेछ । राष्ट्रपति मुन ४१ प्रतिशत भोटका साथ सत्तामा आएका छन् र सायद आफ्नै शक्तिमा उनी खासै अघि बढ्न नसक्लान् ।
अमेरिकी भूमिका
अर्कातिर उत्तर कोरिया र दक्षिण कोरियाबीच मौलाइरहेको ‘नयाँ मित्रता’बाट ट्रम्प प्रशासन असहज महसुस गरिरहेको छ । किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् । र, आगामी दिनमा राष्ट्रपति मुन प्योङयान जान पनि सक्छन् । यद्यपि, यो निम्तो औपचारिक रूपमा दिइएको होइन । र, मुनले उत्तर कोरिया अमेरिकासित संवादका लागि तयार होस् भन्ने आफूले चाहेको बताएका छन् ।
अहिले त यो एक माहोल मात्र हो । एउटा छोटो भेटघाटलाई सम्बन्धमा सुधारका रूपमा पेस गर्न सकिन्न । त्यो, पनि त्यतिवेला, जतिवेला उनीहरूबीच कुन मुद्दामा चर्चा भयो भन्नेसम्म सार्वजनिक भएको छैन । दक्षिण कोरियामा चर्चा छ कि राष्ट्रपति मुन कुराकानी गर्न चाहन्छन्, तर परम्परावादी भने यसलाई तुष्टीकरणका रूपमा हेरिने हो कि भन्ने त्रासमा देखिन्छन् ।
दक्षिण कोरियाका इतिहासकार जोन डेल्युरी भन्छन्– मानिसलाई लागिरहेको छ कि मुन जे इनलाई ठीक ढंगमा श्रेय प्राप्त भइरहेको छैन । मानिसलाई उत्तर कोरियाले मन परिवर्तन गरेको लागिरहेको छ । अमेरिकाले बुझ्नुपर्छ कि दक्षिण कोरियाका हात बाँधिएका छन् । बुझ्नु जरुरी छ कि उत्तर कोरियालाई दक्षिण कोरियासित डर लाग्दैन । जब कि दक्षिण कोरियालाई भने डर लाग्छ, किनकि आणविक हतियार अझै ऊसित छैनन् । त्यसैले शीतकालीन ओलम्पिकपछि आशा बढेको त छ, तर सत्य यो हो कि यस पहलबाट त्यति धेरै आशा नराख्नु नै बेस हुन्छ ।
(प्रा. केली पुसान नेसनल युनिभर्सिटीका प्राध्यापक हुन्)
बिबिसीबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस