एकजना कोरियाली नेपाल घुम्न आए । एउटा नाम लिएर गए । त्यो नेपाली नाममा आफ्नो कम्पनीको नाम राखे । त्यसपछि सुरु भयो उनको अर्बपति बन्ने यात्रा ।
अर्बाैं रुपैयाँको भएको छ चर्चित फेसन ब्राण्ड ‘ब्ल्याक याक’ । विश्वभरी फैलिएको छ ब्ल्याक याकको आउटलेट । यो कम्पनी कति ठूलो छ भने यसका मालिक तेई सुन काङलाई कम्पनीमा कति कामदार छन् भन्ने पनि थाहा छैन । विश्वभरी फैलिएको आउटलेट कति छ भन्ने पनि थाहा छैन ।
उनी भन्छन्– ‘मेरो कर्पोरेटमा मात्र कति कर्मचारी छन् भन्ने जान्न मन लागेर केही समय पहिले सोधेको थिएँ, एक हजार ६ सय जना जति कर्मचारी रहेछन् ।’
वार्षिक दशौं करोड डलरको विश्वभरी व्यापार गर्ने यो कम्पनीमा नेपालीपन छ । किनभने यसको नाम नेपाली छ– ब्ल्याक याक । अर्थात् कालो चौरी । मालिक हुन् दक्षिण कोरियाका तेई सुन कङ्ग ।
नेपालबाट टपक्क नाम टिपे– ब्ल्याक याक । यो नाम टिपेपछि उनको दक्षिण कोरियाली कम्पनी यति फस्टायो कि विश्वव्यापी बन्यो ।
काठमाडौं आएका बेला तेई सुनले आफ्नो कम्पनीको विश्वभरीको आउटलेटको संख्या अनुमान गर्दै भने– ‘सायद एक हजार पुग्न लाग्यो ।’
तीन वर्गफुटबाट थालनी
विश्व चर्चित ब्राण्ड हो– ब्ल्याक याक । ठमेलको आफ्नै आउटलेटमा सनराइज खबर टिमसँग कुराकानी गर्ने समय उनले मुश्किलसँग निकाले । हाम्रो जिज्ञासा थियो– ‘हरेक व्यापारिक साम्राज्य जस्तै ब्ल्याक याकको साम्राज्य पनि सानै रुपमा सुरु भएको हुनुपर्छ । सुरुवात कसरी गर्नुभएको थियो ?’
उनले नहिच्किचाई भने– ‘तीन वर्ग फुटबाट ।’
‘के हो तीन वर्ग फुट भनेको ?’
उनले भने– ‘सियोलमा अर्काले पसल राखेर खालि भएको ठाउँ थियो । त्यहाँ म दिनभर उभिएर सामान बेच्थें । भोक लाग्दा खाने ठाउँ त्यहि थियो । ग्राहक नआउँदा निदाउने ठाउँ पनि त्यहि थियो । त्यो ठाउँ सिर्फ तीन वर्ग फुटको थियो ।’
एकजना दोभाषे राखेर कुराकानी अगाडि बढ्दै गयो । तेई सुन आफ्नो विगत बताउन लागे ।
५०० डलरको बीऊ
दक्षिण कोरियाको राजधानी सियोलमा ४६ वर्षअघि उनले स्थापना गरेका थिए, उनको ‘तीन वर्ग फुटको पसल ।’ पसल सुरु गर्न पैसा थिएन ।
गरिव परिवारका थिए । घर चेजु प्रान्तमा थियो । चेजुकै हल्लासन पहाडमा डुलिरहन्थे उनी । उनी सानो छँदा त्यहाँ दक्षिण र उत्तर कोरियाबीचको युद्ध चलिरहेको थियो । अमेरिकी सेना आफ्नो क्याम्प खडा गरेर बसेको थियो ।
ती सेनाले बोक्ने ठूलाठूला ब्यागहरु पुरानो भएपछि फालिदिन्थे । तेई त्यो ब्याग कहाँ कहाँ फालिएको छ, खोज्थे । टिप्थे । अनि ल्याएर फाटेको ठाउँमा सिलाउँथे । च्यातिएको ठाउँमा अर्काे कपडा हालेर मिलाउथे । ती ब्याग बेच्थे । ब्याग बेचेको आम्दानीले उनको घर परिवार चल्न थाल्यो ।
यहि काम गरेर धेरथोर पैसा जम्मा गरेका थिए । अनि अलिअलि ऋण गरे । करिव पाँच सय डलर, अर्थात् हालको पचपन्न हजार नेपाली रुपैयाँ लगानी गरेर एउटा पसल थापे ।
पसलको संघर्ष
सस्तो पसल । तीन वर्ग फिटको पसल । तर राम्रो पसल । नेपालमा चलनचल्तीको भाषामा भन्नुपर्दा उनको पसल ‘कामचलाउ पसल’ थियाे ।
पसल खोलेपछि उनले अमेरिकी सेनाको थोत्रो ब्याग बेच्न छाडे । सियोलकै एक कम्पनीबाट कच्चा पदार्थ ल्याउन थाले । आफैं ब्याग सिलाउन थाले ।
सानो छँदा घर चलाउन जुन व्यापार गरे, पछिपनि उनले त्यहि व्यापारलाई बढाए । किनकी उनले बजारको ‘ग्याप’ थाहा पाइसकेका थिए । हल्लासन पहाड चढ्न जाने आरोहीहरु पहाड चढ्दा लगाउने कपडा नपाएर हैरान हुन्थे । उनले यही समस्यालाई व्यापार बनाए ।
पहाड चढ्ने कपडा बनाए, पहाड चढ्दा बोक्ने ब्याग बनाए । यसरी उद्यममा पाइला चाल्दै गए ।
त्यहिबेला हो उनले जीवनमै सबैभन्दा धेरै काम गरेको । त्यहि बेला हो– खान र सुत्न समेत बेलाबेला बिर्सिएको । किनकी २४ वर्षको एउटा ठिटोले सपना देखिसकेको थियो । संसारकै एक नम्बर ब्राण्ड बनेको सपना ।
दोभाषे मार्फत् आफ्ना कुरा सुनाउँदा उनी उत्साही देखिन्थे ।
सपनाको छलाङ
करिव १५ वर्षसम्म उनले निकै मेहेनत गरे । व्यापारले धेरथोर प्रगति गरेकै थियो । आफ्नै ‘रेगुलर कस्टमर’ बनाइसकेका थिए । सियोलको लोकल ब्राण्डमा आफू र आफ्नो कम्पनीलाई चिनाइसकेका थिए । त्यसबेला उनको कम्पनी ‘जायन्ट’ नामबाट चल्दथ्यो । ‘जायन्ट’ अर्थात् भीमकाय ।
पछि सियोलमै अर्काे आउटलेट स्थापना गरे । तीन वर्ग फुटको पसलले छलाङ मार्याे । त्यसले पनि निकै राम्रो व्यापार ग¥यो । अब हिम्मत बढ्न थाल्यो । विस्तारै पसलको लगानी बढ्न थाल्यो । अब सपनाले पनि छलाङ मार्ने जस्तो देखियो ।
नेपाल यात्रा, तेईको सौभाग्य
कुरा सन् १९९१ को हो । २८ वर्ष अघि । तेई पहिलो पटक नेपाल घुम्न आए । हिमालय भ्रमणमा गए । चो यु हिमाल क्षेत्रतिर पुगेका थिए । त्यहाँ चौरी देखे । असाध्यै मन पर्यो चौरी ।
नेपालको मीठो याद बोकेर उनी कोरिया फर्किए ।
कोरिया पुग्नासाथ उनले एउटा निर्णय गरे । असाधारण थियो त्यो निर्णय– ‘जायन्ट’ ब्राण्डको नाम फेरेर ‘ब्ल्याक याक’ बनाए । ‘ब्ल्याक याक’ नाम असाध्यै आकर्षक मात्र ठहरिएन, भाग्यमानी पनि ठहरियो । उनको व्यापार दोब्बर चौब्बर हुन थाल्यो ।
नेपालको कालो चौरी तेईका कारण विश्वव्यापी रुपमा ब्ल्याक याक नामले चर्चित हुन थाल्यो ।
अहिलेकाे ब्ल्याक याक
सन् १९९८ ‘ब्ल्याक याक’को लागि अर्काे सुखद दिन थियो । ‘ब्ल्याक याक’ दक्षिण कोरियाको घेराबाट बाहिर निस्किएर विश्वबजारमा पस्यो । पहिलो खुड्किला थियो– चीन ।
चीनमा ‘ब्ल्याक याक’को आउटलेट विस्तार गरेपछि, ‘ब्ल्याक याक’ विश्वमा विस्तारै चिनिन थाल्यो । चीनमा ब्ल्याक याक ब्राण्ड यति चल्यो कि धमाधम आउटलेट खुल्न थाले । चीनमा अहिले उनको दुई सय ३० वटा जति आउटलेट छ ।
बत्ती मुनि अँध्यारो भनेजस्तै नेपाली नामको यो ब्राण्ड नेपालमा चाहिँ आइपुगेन । सन् २०१२ मा मात्र ‘ब्ल्याक याक’ आफ्नो नामकरण भएको भूमि नेपाल आयो । ठमेलमा एउटा आउटलेट खुल्यो । नेपालमा अब आउटलेट मात्र चलाउने होइन, एउटा उत्पादन युनिट नै खोल्ने विचारमा छन् तेई ।
सन् २०१३ मा ‘ब्ल्याक याक’ यूरोप पस्यो । यूरोप प्रवेशको बेला उनले घोषणा गरे– ‘सन् २०१५ भित्र ‘ब्ल्याक याक’ एसियाकै टप फेशन ब्राण्ड बन्नेछ । सन् २०२० भित्रमा विश्वकै टप हुनेछ ।’
यूरोपको बजार र यूरोपका फेशन ब्राण्डहरुमा तेईको घोषणाले ठूलो तरंग ल्यायो ।
अहिले ब्ल्याक याक एसियाको टप फेसन ब्राण्ड मानिन्छ । तर, ब्ल्याक याक सन् २०२० भित्र विश्वको टप फेशन ब्राण्ड बन्छ त ? यसको जवाफ भविष्यको गर्भमा छ ।
भविष्यको गर्भमा के छ भन्ने अहिले नै आकलन गरौं । यूरोपमा उनको दुई सय ५० भन्दा बढी आउटलेट स्थापना भइसकेको छ । पाँच सय डलरबाट थालेको यात्रा ५० करोड डलरमा पुगिसकेको छ । कम्पनीको वार्षिक वृद्धि दर २० प्रतिशतभन्दा माथि छ ।
एउटा टप ब्राण्डमा हुनुपर्ने यावत गुण ब्ल्याक याकमा छ । यो ब्राण्डमा नेपाली नामको सुगन्ध छ । त्यसैले शुभकामना दिउँ– याक ब्राण्ड विश्वकै टप ब्राण्ड बन्नोस् । -sunraisekhabar
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस