डा. डिआर उपाध्याय काठमाडौँ : नागरिक मत सधैँ एउटैका लागि हुँदैन । मुलुकका तीनवटै तहमा सर्वाधिक लोकप्रिय मत पाएर शासन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो लोकप्रियता परीक्षणको मौका प्राप्त गरेको छ । यो निर्वाचनमा प्रतिपक्षी नेपाली कांग्रेस बढी हौसिएको देखिन्छ । यो निर्वाचनमा कुनै हौसिनुपर्ने आवश्यकता देखिँदैन
देशका विभिन्न स्थानमा अघिल्लो शनिबार सम्पन्न प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह गरी जम्मा ५२ पदका लागि भएको उपनिर्वाचनको मत परिणामले सत्तारुढ दललाई झस्काएको छ । यस उपनिर्वाचनको मत परिणामले आगामी निर्वाचनलाई समेत आकलन गर्न सजिलो बनाइदिएको छ ।
यो निर्वाचनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता केही खस्केको र प्रतिपक्षी दल नेपाली कांग्रेसको मनोवल केही बढेको संकेत देखिएको छ । साझा र विवेकशीलजस्ता नयाँ पार्टीलाई जनताले पूर्ण रुपमा अस्वीकार गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि खासै जनताको मन जित्न सकेनन् । कास्कीको प्रतिनिधिसभा चुनावमा यी दलले जमानतसम्म जोगाउन सकेनन् । सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेक अन्य दलले जनताले सोचेअनुसार परिणाम ल्याउन सकेनन् । नेपालको राजनीतिक भविष्य नेकपा र कांग्रेसकै वरिपरि घुम्ने संकेत देखिन्छ ।
उपनिर्वाचनको परिणामले के देखायो भने नेकपा र कांग्रेस नै भावि राजनीतिको पनि प्रतिस्पर्धी हुन् । कांग्रेसको गढ भनिएका वडामा नेकपाले जित्न सफल भएको छ भने नेकपाको लाल किल्ला भनिएका वडा, प्रदेश र उपमहानगरमा कांग्रेसले उनिहरूका लाल किल्ला तोड्न सफल भएको छ । यो मत परिणामबाट सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेस दुवैले संविधानबमोजिमको भूमिका खेल्नुपर्ने मतादेश प्राप्त भएको देखिन्छ ।
साना दलले अस्तित्वकै संकट भोगिरहेका छन् । यो निर्वाचन परिणामले जनमत विभाजन नभएको देखिन्छ । नेपाली जनताले राजनीतिक स्थायित्वका साथै विकास समृद्धि र सुशासन खोजेको संकेत देखियो । संविधानको मर्म र भावनाबमोजिम अल्पसंख्यक, विपन्न र पिछडिएका जाति, समुदाय र क्षेत्रको अधिकार रक्षाको दायित्व सत्तारुढ दलको काँधमाथि आएको छ । यो उपनिर्वाचनमा कास्की, चितवन भक्तपुर र धरानमा आम जनताले बढी चासो देखाएका थिए । नेकपाको लालकिल्ला मानिएको भक्तपुर १(क) को प्रदेश सभा र धरान उपमहानगरपालिकामा नराम्रो पराजय भोगेको छ ।
कम्युनिस्ट किल्ला मानिएको कास्की क्षेत्र नं १ मा यसपटक पनि नेकपाले नै जितेको छ । तत्कालीन एमाले नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त रिक्त सिटमा नेकपाले अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले इमान र त्यागका धरोहर खेमराज पौडेललाई अघि सारे पनि नेकपाकी विद्यालाई कडा टक्कर दिन सकेनन् ।
यो उपनिर्वाचनबाट सबैभन्दा बढी धक्का वैकल्पिक राजनीतिक शक्ति भनी दाबी गर्ने साझा पार्टी र विवेकशीललाई लागेको छ । साझा पार्टीले निर्वाचनमा जनताको मन जित्न सकेन । नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता नभएको होइन । तर, उसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई पुरा गर्न सक्ने संकेत समेत देखाउन सकेन । पुराना र ठूला दललाई गालीगलौज गरेर मात्रै राजनीतिमा स्थापित हुन सकिँदैन । यो कुरा बुझ्न जरुरी छ ।
नागरिक मत सधैँ एउटैका लागि हुँदैन । मुलुकका तीनवटै तहमा सर्वाधिक लोकप्रिय मत पाएर शासन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो लोकप्रियता परीक्षणको मौका प्राप्त गरेको छ । यो निर्वाचनमा प्रतिपक्षी नेपाली कांग्रेस बढी हौसिएको देखिन्छ । यो निर्वाचनमा कुनै हौसिनुपर्ने आवश्यकता देखिँदैन । नेपाली कांग्रेस अलि बढी संगठन विस्तारमा लाग्नुपर्ने देखिन्छ । यो कुरा भने साँचो हो नेपालमा अब दुईभन्दा तेस्रो दलको हैसियत क्षेत्रीय रूपमा मात्र रहने लगभग निश्चित देखिएको छ ।
अहिले मुलुकमा दुईतिहाइ बहुमतका साथ नेकपाले तीनै तहका सरकार सञ्चालन गरिरहेको छ । मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले जनताले सोचेअनुसार खासै काम गर्न भने सकेको छैन । जनता पूरै निराशामा छन् । जनतालाई निराशा हुन दिनु हुँदैन । जनतामा आएको निराशाका कारणले नै नेकपाले आफना सिट सुरक्षित राख्न सकेन ।
स्थानीय तहमा नेकपाको जीत सहज रहेन । तत्कालीन एमाले र तत्कालीन माओवादी एकतापछि कांग्रेससँग जुन मत अन्तर रहनुपथ्र्यो, त्यो देखिएन । चितवनको भरतपुर नगरपालिका १६ को हकमा त परिणाम उल्टो देखियो । कांग्रेस–माओवादी एकता हुँदा एक्लै एमालेले जितेको यो वडामा कांग्रेसले विजय पायो । रोल्पामा विप्लवको प्रभावका कारण धेरै मत खस्न सकेन । संख्यात्मक हिसाबमा अहिलेको जीतहारले राज्य सत्तामा कुनै अर्थ राख्दैन । त्यो कांग्रेसको नैतिक विजयका लागि मात्र हो ।
यो विजय नेपाली कांग्रेस कार्यकर्ताभित्र देखिएको एकता नै मूख्य कारण हो । आम मतदातामा कम्युनिस्ट सरकारले दिएका नाराप्रतिको अविश्वास देखियो । हिजोको चुनाव परिणाम देउवाका कारण मात्र होइन, पार्टीभित्रको घात, प्रतिघात र अन्तर्घात हो भन्ने पुष्टि भएको छ । अहिले यो उपनिर्वाचनको मत परिणाम देउवाका लागि सबैभन्दा ठूलो नैतिक विजय हो । यो एकतालाई एकीकृत गर्दै पार्टी संगठित बनाएर लैजाने चुनौती देउवासामु बाँकी नै छ ।
यो उपनिर्वाचनको परिणामले अब यो मुलुक दुई पार्टी पद्धतिमा अघि बढ्ने संकेत देखाएको स्पस्ट छ । ०७४ को निर्वाचनले यो संकेत गरेको थियो । उपनिर्वाचन परिणामले यसलाई थप बलियो बनाइदिएको छ । अब प्रमुख राजनीतिक दल र तिनका नेताहरू भने इमानदार हुनुपर्ने आवश्यकता देखिएको छ । दलका नेताहरू इमानदार नबन्दासम्म मुलुक बन्दैन । दलका धेरैजसो नेताहरू बदनाम छन् । मुलुकका लागि सोच्ने नेताहरू नै छैनन् भन्ने आम जनबुझाइ छ । नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त छन् । अब राजनीतिक दल र तिनका नेताहरूले गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुरमा मात्र सीमित भएको छ । कर्णालीको विकट जिल्लाहरूमा संगठित यो पार्टी त्यहाँ लोपोन्मुख भएको छ । अहिले समाजवादी बनेको उपेन्द्र यादव नेतृत्वको पार्टी फेरि पनि मधेसमै सीमित बनेको छ ।
राष्ट्रिय चुनावबाट आफूलाई स्थापित गर्न सकिन्छ कि भनेर सस्तो र लोकप्रिय नारा दिने केही राजनीतिक दलको च्याँखे दाउको कुनै अर्थ रहेन । भारतको दिल्लीमा उदाएको आमआदमी पार्टीजस्तो बन्न सकिन्छ कि भन्ने भ्रमबाट अब उनीहरू मुक्त भए हुन्छ । अहिले नेपाली जनता धेरै सचेत र जागरुक छन् । अब जनतालाई भ्रममा राखेर च्याँखे दाउ खेल्ने जमाना गए । यो भ्रम कुनै राजनीतिक दलले पालेर नबसे हुन्छ । लोकतन्त्र बलियो बनाउने दिशामा सबै अघि बढ्नुपर्छ । मुलुकमा अधिनायकवाद चल्दैन । यो कुरा सरकार सञ्चालन गर्ने नेतृत्वले पनि बुझ्न जरुरी छ । मुख्य कुरा आवधिक निर्वाचन हो । निर्वाचनले जे फैसला गर्छ त्यो मान्न लोकतन्त्र पक्षधरहरू तयार हुनुपर्छ । नेपाली जनतामा राजनीतिक चेत भने धेरै माथि आएको निर्वाचन परिणामले देखाएको छ ।
समयमा नै नेकपालाई नागरिकले सचेत गराएका छन्् । कसरी र कुनरूपमा सच्चिने भन्ने कुरा यो दलका नेता तथा कार्यकर्ताको व्यवहार र आचरणले निर्धारण गर्छ । यो लोकतान्त्रिक वयवस्था हो । नागरिकलाई एउटा चुनावमा झुक्याउन सकिन्छ तर सधैँं जनतालाई झुक्याउन सकिँदैन । यो कुरा राजनीतिक दलहरूले बेलैमा बुझे हुन्छ । यति वेला नेपाली जनता राष्ट्रियताका सवालमा बढी चिन्तित छन् । देशका सीमा मिचिएका छन् । दलहरू कानमा तेल राखेर बसेको अवस्था छ । भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आवाज उठाउन नसक्ने दल र तिनका नेताहरूले राष्ट्रिय एकता कसरी कायम गर्न सक्छन् भन्र्ने प्रश्न हो । देश र जनताको पक्षमा खरो उत्रन सक्ने राज नेताको खाँचो छ ।
नेपाली जनता देशभक्त छन् । आफनो एक इन्च भूमि गुम्न दिँदैनन् । सरकारमा बसेकाहरूले यो विषयमा सचेत हुनुपर्छ । वर्तमान सरकार राष्टियताका विषयमा खरो रूपमा उत्रन नसक्नाले पनि नेकपाले उपनिर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेको बुझ्न सकिन्छ । नेपाली जनताले सरकारको काम कारबाहीबारे सूक्ष्म ढंगले मूल्याकंन गर्दै आएका छन् । सरकार गठन भएको यति लामो समय बितिसक्दासमेत सरकारले विकास, समृद्धि र सुशासन कायम गर्न सकेको छैन । जबसम्म मुलुकमा सुशासन कायम हुन सक्दैन तबसम्म देशले विकासको गति लिन सक्ने छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस