'खोप उपलब्ध नहुन्जेल, विश्वले कोभिड-१९ को महामारी कम हुने र बढ्ने आधारमा सामाजिक दुरी खुकुलो र कडाई गर्ने नीति अबलम्बन गरिरहनुपर्ने हुन्छ।'
अहिले संसार कोरोना भाइरसले त्रसित र भयभित छ । यो भाइरस अत्यन्त सुक्ष्म हुन्छ । तीन महिना अघिमात्र चीनमा देखिएको यो भाईरसबाट बच्न अहिले बिश्वको आधा भन्दा बढी जनसंख्या आफ्नो ईच्छा बिपरित कोहि कतै नगईकन घर भित्रै कैदीको जस्तो जीबन बिताउन बाध्य भएका छन्। यो अत्यन्तै अपत्यारिलो र दुःखद परिस्थिति हो। मानव जातिलाई यस्तो बिषम परिस्थितिमा पुर्याउने र मानवीय कृयाकलापलाई घर भित्रै सिमित हुन बाध्य बनाउने नयाँ भाईरसको बैज्ञानिक नाम Severe Acute Respiratory Syndrome Coronavirus 2 (SARS-CoV-2) भनिन्छ । यसको शुरुवाती नाम २०१९ नोभल कोरोनाभाईरस रहेको थियो । यो एउटा पोजिटिभ-सेन्स-सिङगल-स्ट्रान्डेड आरएनए भाईरस हो।
कोरोनाको शाब्दिक अर्थ ‘मुकुट वा माला’ भने बुझिन्छ। यसको बाह्य आवरणमा तिखो काँडाजस्तो चुच्चाहरु निस्किएकोले मानिसको शरीरमा प्रबेश गरेमा यसले श्वासनली र फोक्सोमा संक्रमण गर्छ र कडा निमोनियाले सिकिस्त बनाउँछ जसलाई कोरोना भाईरस डिजिज २०१९ (कोभिड-१९) भनिन्छ।
दुःखको कुरा यो भाईरस मानिस-मानिस बीचमा अति छिट्टो सर्छ र बाहिर हावा, धातु, कपडा, प्लास्टिक लगायत सबै खालको बस्तुहरुमा घन्टौसम्म बाँच्न सक्छ। त्यसैले संसारभरि कोभिड-१९ को महामारी फैलिएको छ जसबाट अप्रिल ३ दिउँसोसम्ममा १० लाख भन्दा बढी मानिसहरु संक्रमित भईसकेका छन् जसमध्ये ५४ हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन्।
नेपालमा हालसम्म बिदेशबाट फर्केका ६ जना नेपालीहरुमा संक्रमण भएको छ। बेलैमा यसप्रति अपनाएको सचेतता र पूरै देश लकडाउन गरी सबैजना घरमा नै बसिदिएकाले यो भाईरस फैलिनबाट रोक्न सकेको जस्तो देखिए पनि यसको ईन्कुबेसन पिरियड (भाईरस शरीरमा छिरिसकेपछि रोगको लक्षण देख्न लाग्ने समय) सालाखाला १४ दिन जति लाग्ने भएकोले अझै पनि महामारि फैलिन सक्ने सम्भाबनालाई नकार्न सकिंदैन।
चीनको हुबेई प्रान्तको वुहानमा २०१९ को डिसेम्बरबाट शुरु भएको यो महामारीले त्यहाँ ८० हजार भन्दा बढी मानिस संक्रमित भए भने ३ हजर ३ सय भन्दा बढीको ज्यान गयो । पूरै प्रान्तलाई महिनौंसम्मको आइसोलेसन र बिज्ञान प्रबिधिको उच्चतम प्रयोग र साबधानीमा राखियो । अहिले संक्रमण नियन्त्रणमा आएको छ। तर खुल्ला सीमाना भएको अर्को छिमेकी देश भारतमा दिनदिनै नयाँ संक्रमितको संख्या बढ्दै गएको तथ्याङक हेर्दा त्यहाँ सार्स-कोभ-२ को संक्रमण समुदायमा फैलिन्दै गरेको पूष्टी हुन्छ । यद्यपि पूरै भारत लकडाउन गरिएको छ र संक्रमणलाई धेरै हदसम्म नियन्त्रण गरिरहेको छ। संसारको कुनै पनि कुनामा सार्स-कोभ-२ बाट सक्रमित ब्यक्ति रहुँउजेल, कोरोनाको प्रभाव बिशेषगरि भारतमा रहेसम्म नेपालमा कुनै पनि बेला महामारी फैलिन सक्ने सम्भाबना रहिरहन्छ। त्यसैले रोकथाम र बचावटको उपायहरु हामीले निरन्तर जारी राख्नुपर्ने हुन्छ।
निश्चय नै लकडाउनले निम्त्याउने सामाजिक अवरोधहरू गम्भीर, चिन्ताजनक अपत्यारिलो खालको छ र यसले मानिसहरुमा ठूलो मनोवैज्ञानिक असर पार्ने देखिएको छ। अहिले नै केहि हप्ताको बन्द र छुट्टीले विश्वको सामाजिक, आर्थिक, र राजनीतिक संतुलनामा ठूलो धक्का लागिसकेको छ। जस्तै वित्तीय घाटा बढ्ने, सामाजिक-आर्थिक असमानता बढ्ने र बिपन्न समुदायमा थेग्नै नसकिनेखालको आर्थिक बोझ बढ्ने आदि असर अहिलेनै देखिसकेको कुरा स्मिथसोनियन म्यागाजिनले अप्रिल १ मा प्रकाशित गरेको छ।
बिज्ञहरुकले चेतावनि दिएका छन् कि यो महामारी नियन्त्रणमा ल्याउन यति मुल्य चुकाउन तयार हुनैपर्छ अन्यथा भविष्यमा हामीले अझ धेरै गुणा चुकाउनुपर्ने हुन्छ। आजसम्ममा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमित पुष्टि भएको राष्ट्र हो, जहाँ २०२० अप्रिल २ बिहिबार साँझसम्ममा साढे दुई लाख भन्दा बढी ब्यक्तिहरुमा संक्रमण देखिसकेकोछ जसमध्ये ६ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेकोछ। अझै यो कोभिड-१९ महामारीले कति बितन्दा निम्त्याउने हो र कसरी र कहिले त्यस्को अन्त्य हुने हो कसैलाई पनि थाहा छैन। त्यसो भए अब के हुन्छ ?अनि के गर्ने त?
महत्वपूर्ण पक्ष हाम्रो शरीरको प्रतिरक्षा प्रणाली
भाईरससंग लड्ने अचूक उपाय भनेको हाम्रो शरीरले त्यसको असरलाई निमिट्यान्न पार्न प्रतिरक्षात्मक प्रणालीको बिकास गर्नु हो। हाम्रो शरीरमा बाह्य भाईरस प्रबेश गर्यो भने शरीरले प्रतिरक्षात्मक कोषहरु (Immune cells) बनाउन थाल्छ र यदि प्रतिरक्षात्मक कोषहरु प्रचुर मात्रामा बन्न सकेको खण्डमा भाईरसले हाम्रो शरीरलाई कुनै गम्भिर हानी पुर्याउन सक्दैन। यस्तो प्रतिरक्षात्मक कोषहरु बन्ने मात्रा, गति र क्षमता ब्यक्ति, समुदाय र उमेर अनुसार फरक हुन्छ त्यसैले एउटै प्रकृतिको भाईरसको प्रभाब ब्यक्तिपिच्छे फरक हुन्छ।
कोभिड-१९ को संक्रमण पूर्ण रुपमा रोक्न त्यतिबेला सम्भब हुनेछ जब विश्वभरिका निश्चित जनसंख्याले सार्स-कोभ-२ बिरुद्द प्रतिरोधात्मक क्षमता बिकास गर्नेछ, फलस्वरुप भाईरसले संक्रमणको लागि नयाँ अतिसंवेदनशील व्यक्तिहरू फेला पार्न असफल हुनेछ र त्यसले आफ्नो होस्ट छाड्नु अघि अर्को संक्रमण गर्नलाई कुनै व्यक्ति पाउने छैन। यो संकटको थ्रेसहोल्ड पार गर्न २।५ देखि ५ अर्ब मानिसहरुमा कोरोना प्रतिरोधात्मक क्षमता बिकास भैसक्नु पर्नेहुन्छ भने अन्वेषकहरूले अनुमान गरेको कुरा जोनाथान लाम्बर्टले साइन्स न्यूजमा रिपोर्ट गरेको छ।
प्रतिरक्षा बिकासको लागि दुई तरिकाहरु छन्। पहिलो, कोभिड-१९ बाट निको भएका व्यक्तिहरूमा बिकास भएका प्रतिरोधात्मक कोषहरूले गर्दा सोहि ब्यक्ति पुनःसंक्रमित हुँदा भाईरससँग लड्ने क्षमता राख्छ। यसरी पुनःसंक्रमित भए पनि उनिहरुसंग कोभिड-१९ को कुनै पनि लक्षण देखिनु हुँदैन।
दोस्रो, मानिसहरुले खोपबाट प्रतिरोधात्मक क्षमता पाउनसक्छ, जसले शरीरलाई हानी नगरिकन भाईरसलाई चिन्न र नष्ट गर्न सिकाउँछ। सार्स-कोभ-२ को खोप बिकास गर्न कयौं अनुसन्धानकर्ताहरु संसार भरि नै लागिरहेका छन् तर अहिलेसम्म सफलता मिलेको छैन। यसको सफल परीक्षण पश्चात सबैको लागि सुरक्षित र भरपर्दो खोप उपलब्ध हुन सायद महिनौं वा बर्षौं पनि लाग्ने देखिन्छ।
यी दुबै तरिकाहरुमा सार्स-कोभ-२, वा यसको केहि मात्राबाट शरीर संक्रमण भइसकेपछि, ऊ भावी संक्रमणबाट बच्न सक्छ किनकि उसको शरीरमा यथेष्ट मात्रामा प्रतिरोधात्मक कोषहरू भैसकेको हुन्छ जसले केहि गरि भबिष्यमा त्यो भाईरस शरीरमा पुनःप्रबेश गरेमा तुरुन्त नै त्यसलाई पराजित गर्छ र हाम्रो शरीरले कुनै बिसन्चोको अनुभब गर्नुपर्ने हुँदैन। तर दीर्घकालीन रुपमा ढुक्क हुन भने अझै सकिन्दैन।
फैलावटको वक्ररेखा समतल बनाउने
विश्वव्यापी रूपमा फैलिरहेको यस महामारीलाई कम गर्न र पहिले नै तनावग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई धरासायी हुनबाट जोगाउने अर्को उपाय भनेको फैलावटको बक्ररेखालाई समतल बनाउने यानिकि जति सक्दो त्यति रोकथामको उपाय अपनाउने र सकेम्म धेरै भन्दा धेरै जनालाई संक्रमित हुनबाट बचाउने हो । यसलाई अवलम्बन गर्ने केहि आधारहरु छन्- यदि समुदायमा भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने अवसरहरू न्यून भएमा, नयाँ संक्रमण धेरै देखिने छैनन् । यसको सट्टामा, नयाँ केसहरू लामो समयको अन्तरालमा मात्र देखिने हुन्छ, र कोभिड-१९ का बिरामीहरुको औसत संख्या घट्ने छ। यसले अत्यन्त तनाबग्रस्त रहेको हाम्रो स्वास्थ क्षेत्रहरुमा बिरामीको चाप घटाउने छ र शोधकर्ताहरुलाई महामारी फैलावटको अबस्था अनुसार आवश्यक परीक्षण र उपचार गर्न समय मिल्नेछ।
यसरी फैलिने क्रमलाई सुस्त बनाउने पहिलो चरण भनेको सामाजिक दुरी हो। व्यक्ति विशेषसँगको सम्पर्कलाई घटाउने, ब्यक्ति- ब्यक्ति बीचको दूरि कम्तिमा ६ फिट जुन दुरीमा सार्स-कोभ-२ बाट संक्रमित ब्यक्तिको संक्रामणका थोपाहरु अर्को ब्यक्तिमा हावाबाट सर्ने सम्भावना न्यून हुन्छ। केही मनोवैज्ञानिकहरूले यसलाई अलि कम पृथक शब्द बुझ्ने ‘शारीरिक वा भौतिक दुरी’ प्रयोग गर्न वकालत गरेका छन् ताकि भौतिक रुपमा मानिसहरू टाढा रहे पनि सामाजिक रूपमा नजिकिएको आभाष दिलावस् भनेर।
हप्तौ लामो संक्रमण चलिरहेको र तीब्ररुपमा भाईरस फैलिरहेको बेला, शारीरिक दुरी कायम गर्दैमा तत्कालै फैलावट रोकिन्छ भन्ने होइन। यो यस्तो अवस्था हो जुन लामो समयसम्म चलिरहन्छ, र कुनै कुनै समुदायमा यसरी अल्लग्गिएर बसेका मानिसहरुले धैर्यता गुमाउन सक्नेछ, जसले रणनीतिको प्रभाबकारीतामा असर पार्नेछ। उदाहरणका लागि, यदि सामजिक दुरी कायम गर्ने उपायहरू चाँडो छोडेमा, सार्स-कोभ-२ अति संवेदनशील जनसंख्यामा पुनःगर्जिनेछ र महामारीको समयरेखा अझ लम्बिन जानेछ। जोन्स हप्किन्स सेन्टर फर हेल्थ सिक्योरिटी एपिडेमिलोजिस्ट क्याटलिन रिभर्सले भोक्सका संवाददाता ब्रायन रेस्निकलाई बताए अनुसार यदि हामी जस्तो पहिला थियौं त्यस्तै अबस्थामा अहिले नै फर्कि हालेमा यो महामारी पनि त्यत्तिकै तीव्रताका साथ फेरि शुरु हुनेछ।
साइन्स न्यूजका अनुसार संयुक्त राज्य अमेरिकामा कम्तिमा एकदेखि तीन महिनासम्म सामाजिक दुरी कडाईसाथ परिपालन गर्नुपर्ने हुन्छ र यो सुरुवात मात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ। विशेष गरी यदि सार्स-कोभ-२ ऋतुसंगै उतार-चढाब भएमा अथवा भाईरस प्रति हाम्रो शरीरले बिकास गरिसकेको प्रतिरक्षात्मक क्षमता केही महिना वा वर्ष अबधीमै ह्रास आएमा कोभिड-१९ बिरुद्धको हाम्रो युद्ध सम्भवत अझै धेरै लम्बिनेछ। एमआईटी टेक्नोलोजी समीक्षाका गिडेन लिचफिल्डका अनुसार खोप उपलब्ध नहुन्जेल, विश्वले कोभिड-१९ को महामारी कम हुने र बढ्ने आधारमा सामाजिक दुरी खुकुलो र कडाई गर्ने नीति अबलम्बन गरिरहनुपर्ने हुन्छ। हार्वर्डको स्कूल अफ पब्लिक हेल्थका संक्रामक रोग अनुसन्धानकर्ता स्टीफन किसलरले एट्लान्टिकका एड योंङ्गलाई बताए अनुसार हामी लामो अबधिको लागि सामाजिक दुरी कायम गर्न तयार हुनु आवश्यकछ।
यसले के देखाउँछ भने सार्स-कोभ-२ बिरुद्को लडाई त्यति छिट्टै टुङगिने देखिन्दैन, आंशिक वा पूर्ण लकडाउन लामो समय सम्म धैर्यताका साथ हामीले अपनाउनु पर्ने नै हुन्छ। बिश्वबाट कोभिड-१९ पूर्ण निर्मुल नभएसम्म ब्यक्ति – ब्यक्ति बीचको दुरी कायम नै गर्नुपर्ने हुन्छ।
रोग पहिचानका लागि परीक्षणको महत्त्व
एड योङ्गले एट्लान्टिकमा भने अनुसार अर्को महत्त्वपूर्ण पक्ष भनेको सार्स-कोभ-२ संक्रमणको पहिचानका लागि परीक्षण गर्ने क्षमता धेरै बढाउनुपर्छ। संक्रमित व्यक्तिहरूको संख्या एकिन नगरेसम्म हामीले महामारी कसरी विकसित हुँदैछ वा कुन जनसंख्या सबैभन्दा बढी जोखिममा छ भन्ने कुरा बुझ्न सक्दैनौ र यो महामरीलाई नियन्त्रण गर्न सक्दैनौ। त्यसैले कोभिड-१९ को पहिचानका लागि परिक्षण पहिलो र अत्यन्त महत्वपूर्ण पाटो हो । नेपालजस्तो साधन र स्रोतको अभाब भएको देशमा परीक्षणको काम निकै चुनौतिपूर्णछ तर यसलाई बेवास्ता गर्न सकिन्दैन। त्यसैले संकास्पद र सम्भाबित ब्यक्तिहरुलाई आइसोलेसन र क्वारेन्टइनमा राख्नुनै प्रभाबकारी र प्राथमिक उपाय हुनेछ। कुनै ब्यक्तिको स्वास्थ स्थितिलाई नजिक्कै बाट गम्भिर तरिकाले नियाल्दै क्लिनिकल डाईग्नोसिसको आधारमा कोभिड-१९ को पहिचान गर्नुपर्ने अबस्थामा आकस्मिक उपचारको पद्दति अवलम्बन गर्नु बाहेक अर्को बिकल्प नहुन सक्छ। त्यसैले हाम्रो सबै जसो स्वास्थ सेवा केन्द्रहरु आकस्मिक उपचारको लागि सधै तयारी अबस्थामा रहनु पर्ने देखिन्छ।
रिभर्सले साइन्स न्यूजमा बताए अनुसार अरू देशहरू जस्तै दक्षिण कोरियाले शुरुमै परीक्षणको व्यवस्था गरेर, संक्रमित व्यक्तिहरू चिन्ने र अलग्गै राख्ने ब्यबस्था गरेर, तिनीहरूको सम्पर्कमा आएकाहरूका रोगको लक्षणलाई नजिकबाट निगरानी गरेर कोभिड-१९ फैलिन धेरै हदसम्म रोकेको छ। यो एक महत्वपूर्ण र विस्तृत रणनीति हो। आजको मितिमा संयुक्त राज्य अमेरिका लगायत युरोपियन देशहरु यहि रणनीति नक्कल गर्ने विन्दु भन्दा धेरै पर पुगिसेकेको छ। नेपालले कोरियाको रणनीतिलाई अंगिकार गर्न सक्छ । यसका लागि शंकास्द ब्यक्तिहरुको यथाशिघ्र परीक्षण गर्ने र भारत लगायत बिदेशबाट आएका सबैलाई संक्रमणकाल भरि अनिबार्य रुपमा छुट्टै क्वारान्टाइनमा राखेर परीक्षणको दायरा बढाउनुपर्ने हुन्छ। यसरी संक्रमणको स्रोतलाई नियन्त्रणमा राखेर भाईरसलाई बाहिर जानबाट रोक्न सके पुरै जनता लकडाउनमा बसिरहनु जरुरी हुँदैन। तथापि ब्यक्तिगत सुरक्षा र भौतिक दुरी कायम गर्नलाई त पालना गर्नैपर्ने हुन्छ।
अझै ब्यापक फैलिदै गरेको सार्स-कोभ-२ लाई प्रभावकारी तवरमा नियन्त्रण गर्न स्थानीय स्तरमा समेत रोगको सटिक पहिचान गर्नु आवश्यक छ। संक्रमित क्षेत्रहरुको नक्शांकन गरेर जहाँ संक्रमणहरू अधिक हुन्छन्, त्यहाँ परीक्षणलाई व्यापक बढावा दिन्दै, सामाजिक दुरीको उपायहरू कडा र सख्त रुपमा लागु गर्नुपर्छ भनेर शेरोन बेगलीले स्टेट न्यूजमा रिपोर्ट गरेका छन्। थप परीक्षणहरूले ती व्यक्तिहरूको पनि पहिचान हुन आउँछ जो कोभिड-१९ बाट निको भएका छन र यदि तिनीहरू प्रतिरोधात्मक छन् भने ती व्यक्तिहरू काममा फर्कन सक्दछन्, वा जोखिममा परेकाहरुको हेरचाहमा मद्दत गर्न सक्दछन्। आलोचनात्मक रूपमा भन्नुपर्दा अहिले बिकास गरेका र पूर्ण बनाइएका उपकरणहरू भविष्यको कुनै पनि यस्तै प्रकोपका लागि काम लाग्ने छन्।
अन्ततोगत्वा स्टेटन्यूजका अनुसार हप्तौंको सामाजिक दुरीमा कडाईपछि, सार्स-कोभ-२ शुरूमा पत्ता लागेको चीनको हुबेई प्रान्तलगायत विश्वका अरू स्थानहरूबाट अब ‘बाहिरिने रणनीतिहरू’ शुरू भइसकेका छन्। यहाँ, पूर्ण लकडाउन पछि महामारीको गति नाटकीय रूपमा सुस्त भएको छ। लकडाउनको बेलामा मानिसहरुलाई शहरमा यात्रा गर्न वा सडकमा निस्कन समेत रोकेको थियो।
गत वर्ष यो भाईरस पहिलो पटक पत्ता लागेको वुहान शहर बाहेक हुबेईका बासिन्दाहरूले अब आफ्नो प्रान्त छाड्न सक्ने भएका छन्, यसले उनीहरूको स्वास्थ्यस्थिति राम्रो रहेको स्पष्ट हुन्छ। यदि यसरी नै थोरै केसहरुमात्र देखिरहे आउँदो हप्ताहरूमा थप प्रतिबन्धहरू हटाइने अपेक्षा गरिएको छ यद्यपि अधिकारीहरू आवश्यक परेमा पहिलेकै उपायहरू पुनःलागु गर्न पनि तयारी गर्दैछन्।
हुबेईको महामारी नियन्त्रणले हामीमा ठुलो आशा जगाएको छ । तथापि यो बिश्वब्यापीकरण भने नहुनसक्छ। संयुक्त राज्य लगायत युरोपमा कोभिड-१९ का केसहरू अझै दिन प्रतिदिन बढिरहेको र विज्ञहरूले महामारिको प्रकोप कहिलेदेखि सुस्त हुन्दै जाला भने कुरोको अझै पूर्वानुमानसमेत गर्न सकेका छैनन । हालका लागि धेरैले चीन, ताइवान, भियतनाम, कोरिया लगाएतका देशहरूको सफलतालाई कदर गर्दै उदाहरणको रुपमा अवलम्बन गर्ने प्रयास गर्दैछन्।
कोरोना महामारी अन्त्य हुने कुरा निश्चयनै गाह्रो छ, जुन ठूलो संख्यामा करोडौंको सामूहिक प्रतिबद्धतामा निर्भर रहन्छ। सामाजिक दुरी सधैंभरि कडाईकासाथ रहिरहने छैन र गर्न पनि सकिन्दैन। यी उपायहरू अपनाउँदा हामीले शारीरिक र मानसिक स्वास्थ्यमा पनि ध्यान दिनु जरुरी हुन आउँछ।
आजको दिनमा कोभिड-१९ महामारी धेरै हिसाबले वर्तमान बिश्वको एक चलायमान तारो साबित भएको छ। अनुसन्धानकर्ताहरूले अब अगाडी के हुन्छ ? र हाम्रो जन-जीवन कहिलेबाट सामान्य अवस्थामा फर्किन्छ? भन्ने प्रश्नको कुनै ठोस जवाफ दिन सकेका छैनन्। एउटा कुरा स्पष्ट भएको छ कि व्यवसायीहरूले शटर बन्द गर्ने र मानिसहरु घरमा नै बस्नुपर्ने बाध्यता निरन्तर जारी रहन्छ र जोई पिन्स्करले एटलान्टीकमा रिपोर्ट गरे अनुसार यो फैलावट रोक्न सामाजिक दुरी कायम गर्ने (व्यक्तिलाई शारीरिक हिसाबले अलग राख्ने) कडा खालको उपायहरू महिनौ वा सायद एक बर्ष भन्दा बढी पनि अपनाउनुपर्ने कुरा स्पष्ट भइसकेको छ।
सेपियन्स र होमो ड्यूसका लेखक इतिहासकार युवल नोह हरारीका अनुसार कोविड-१९ संकट रोक्नै नसकिने प्राकृतिक प्रकोप होइन बरु मानबीय असफलता चाहि भन्न सकिन्छ । हामीसँग कोरोनाभाईरस बिरूद्धको लडाईमा हाम्रो पक्षमा विज्ञान, बुद्धि, र समुदाय छ त्यसैले हामीले छिट्टै बिजय पाउनेछौं ।
(लेखकले दक्षिण कोरियाको सनमुन बिश्वबिधालयबाट ‘नानो साईन्स’ मा विद्यावारिधि गरेका छन् । हाल ग्लोवल सेन्टर फर रिसर्च एण्ड डेवलेपमेन्ट संस्थासंग आबद्ध छन् । साथै ख्वप कलेज र काठमाण्डु विश्वबिधालयमा प्राध्यापन गर्छन । उनलाई oksuwal@gmail।com मा सम्पर्क गर्न सकिन्छ।)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस