काठमाडौं-राजधानी दोहामा आफूलाई दोश्रोपटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जानेभएको छ । इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाका समय त्यहाँ बसोबास गर्दैआएका नेपाली समुदायलाई साँगीतिक कोशेली लिएर ब्याण्ड त्यसतर्फ जानलागेको हो । इदको दोश्रो दिन अर्थात् हाम्रो भेगमा बकरिद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ ।
नेपथ्यले अगस्त १२ सोमबार (साउन २७) बेलुकी सात बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ ।
यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो।
नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाउँदै र कतिपयले टिकटसमेत बेचेर सोझासाझा दर्शकहरुलाई दुःख दिइरहेको पृष्ठभूमिमा पाँच वर्ष पहिले अचानक ब्याण्ड पुगिदिँदा धेरैले ‘फेरि पनि झुक्याइएको’ ठानिदिएका थिए ।
उक्त कन्सर्ट सकेर फर्कँदै गरेका नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई विमानस्थलमा भेट्ने तन्नेरीहरुमध्ये कतिपयले कन्सर्टको बारेमा जानकारी नै नभएको त कतिपयले पहिलेजस्तै झुक्याइएको हुनसक्ने ठानेर नगएको बताएका थिए ।
‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’
दुइ दसक अघिसम्म पनि कमै नेपालीले नाम सुनेको यो मुलुक यतिबेला हाम्रो समाजका लगभग प्रत्येकजस्तो घरसँग जोडिएको छ । परिवारकै सदस्य नभए पनि कुनै न कुनै आफन्त रोजगारीका लागि यस खाडी राष्ट्रमा नपुगेको कमै नेपाली भेटिन्छन् । असाध्यै तातो हावा चल्ने यस स्थानमा मेहनत गरेर कमाइको पैसा स्वदेश पठाउने परिश्रमी युवाहरुको रेमिट्यान्सले नै यतिबेला हाम्रो मुलुकको अर्थतन्त्र थेगेको छ । आकार र जनसंख्यामा नेपालभन्दा असाध्यै सानो यस मुलुकमै यत्रतत्र भेटिनेगरि उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ ।
यसरी मजदुरी गर्नका निम्ति विदेशीएका नेपाली दाजुभाइको भोगाइमै आधारित रहेर नेपथ्यले केहि वर्षअघि ‘मै मरि जाउँला, जीवन छोट्टो छ’ बोलको गीतमा म्यूजिक भिडियो बनाएको थियो । त्यो भिडियो परदेशमा रहेका तन्नेरीले आफ्नी श्रीमतीसँग गरेको संवादका रुपमा ‘कमिक एनिमेसन’को प्रयोगबाट तयार पारिएको थियो । सन् २००८ मा सार्वजनिक भएको यस गीतलाई दुई वर्षअघि म्यूजिक भिडियो बनाएर यु ट्युबमा राखिएपछि अत्यधिक मनपराइएको छ ।
‘यसरी परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लाग्ने गर्छ,’ गायक अमृत भन्छन्, ‘सँधै जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरुमा आधारित आफ्ना सिर्जनाहरु मार्फत ती दाजुभाइहरुलाइ मनोरञ्जन गराउने छौं ।’
अघिल्लोपटक नेपथ्य पहिलो प्रस्तुतीका निम्ति दोहा पुग्दा त्यहाँको स्थानीय अवस्था र चालचलनबारे अनभिज्ञताकै कारण पनि कतिपय मुश्किलको सामना गर्नुपरेको ब्याण्डको अनुभव छ । ‘जस्तो कि कतारमा एक दिनको निम्ति मात्र कार्यक्रम स्थल बुक गरिएको थियो र अर्कातर्फ विहान एघार बजेदेखि बेलुकीसम्मै गर्मीले गर्दा त्यहाँ काम गर्न सरकारले अनिवार्य रोक लगाएको अवस्था थियो,’ गायक अमृत अघिल्लो अनुभव सुनाउँदै भन्छन्, ‘यस्तोमा कार्यक्रमस्थलको प्राविधिक परिक्षण र विशेषतः ध्वनी व्यवस्थापनको पर्याप्त तयारी बिनै कन्सर्ट देखाउनुपरेको थियो ।’
यसपटक भने त्यस्ता अनुभवहरुलाई ध्यानमा राखेर तयारी गरिने ब्याण्डले जनाएको छ ।
कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।
‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनौट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतीलाई अविस्मरणीय बनाउन तत्पर छौं ।’
सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस