काठमाडौं – नेपालीभरि मनाइने चाड दशैँ आउनुअघि अहिले बजारमा चहलपहल बढ्न थालेको छ। सरकारले लामो दूरीको सवारीसाधन सञ्चालनमा लगाएको प्रतिबन्ध असोज महिना सुरु भएदेखि हटाएसँगै एउटा जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।
दशैँका लागि प्रायः मानिसहरू घर जाने चलन रहिआएकोमा सामान्य अवस्थामा जस्तै यसपालि पनि आउजाउ धेरै भए कोरोनाभाइरस सङ्क्रमण अझ बढी फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञले सचेत गराएका छन्।
एकथरीले अहिले कोरोनाभाइरस महामारीको प्रतिकूल समयमा चाडवाड मनाउने तरिकामा ‘लचिलो’ हुनुपर्नेमा जोड दिएका छन् भने अर्कोथरीले दशैँ मनाउन घर जाने मानिसहरूलाई जनस्वास्थ्यसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्न सुझाएका छन्।
सरकारले यस वर्षको दशैँ “आफू भएको ठाउँ” मै मनाउन सर्वसाधारणलाई अपील गरेको छ।
के भन्छन् विज्ञ?
चाडवाडका बेला एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको आउजाउ तथा एकअर्काबीच घुलमिल हुने हुँदा कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिम उत्तिकै रहेको विज्ञहरू बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बीबीसी न्यूज नेपालीसित भने, “सहरबाट मानिसहरू गाउँगाउँ पुग्ने भएपछि सङ्क्रमण पनि उनीहरूसँगै अझ धेरै पुग्ने खतरा छ।”
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार आइतवारसम्म काठमाण्डू, ललितपुर, भक्तपुर, मोरङ, सिराहा, चितवन र रूपन्देही गरी सात जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित उपचाररत छन् भने मनाङ, मुस्ताङ र डोल्पा गरी तीन जिल्लामा शून्य सङ्क्रमित छन्।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, “जुन ठाउँमा पहिला सङ्क्रमण बढेर अहिले कम भइसकेको छ मानिसहरूको आवतजावतसँगै ती ठाउँमा अब फेरि सङ्क्रमण बढ्ने सम्भावना हुन्छ।”
दीर्घरोगी, ज्येष्ठ नागरिक लगायतका मानिसहरूमा सङ्क्रमण सर्ने जोखिम अरूलाई भन्दा बढी भएको उनी बताउँछन्।
सामान्यतया दशैँमा परिवारका सदस्यहरू भेला हुने र साथीभाइ तथा आफन्तकहाँ गएर मानिसहरू रमाइलो गर्ने गर्छन्।
सुरक्षित दशैँ कसरी मनाउने?
स्वास्थ्य प्रणालीले धान्न सक्नेभन्दा बढी सङ्क्रमित भए फेरि लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले दोहोर्याउँदै आएको छ।
सक्रिय सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,००० नाघेमा लकडाउन गर्न मन्त्रालयले सुझाव दिइसकेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउँदै आएका छन्।
स्वस्थ व्यक्तिहरूको हिँडडुलमा राज्यले रोक लगाउन नसक्ने जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास रहेको पृष्ठभूमिमा दशैँको बेला आत्मानुशासन नै प्रभावकारी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मरासिनीको सुझाव छ।
“दशैँ टीकाटालोसँग मात्रै सम्बन्धित कुरा होइन। परिवारका सदस्यका लागि नयाँ लुगा लगिदिने हुन्छन्, ऋण तिर्नेहरूले ऋण लिएर आफैँ आउँछु भनेका हुन्छन्। दशैसँग यी र यस्ता धेरै पक्ष जोडिएका हुन्छन्।”
“बरु बाहिरबाट घर गएपछि परिवारका सदस्यसँग कसरी दूरी राख्न सकिन्छ, जनस्वास्थ्यसम्बन्धी अरू मापदण्ड कसरी पालना गर्न सकिन्छ लगायतका कुरामा मानिसहरूले ध्यान दिँदा सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ,” मरासिनीले थपे।
तर यस पटक भिडभाड र जमघटलाई सकेसम्म पन्छाउन सके सबैका लागि हितकर हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव छ।
“चाडवाडका बेला तपाईँले आफ्नै मान्छे/आफन्तलाई जोखिममा पार्न सक्नु होला। घर नगई फोनलगायतका माध्यमबाट पनि मान्यजनबाट आशीर्वाद लिन सक्नुहुन्छ।”
तर प्रत्यक्ष रूपमा सहँभासरिक भएको खण्डमा अहिलेको प्रतिकूल समयमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ।
“भेटघाट गर्दा कोठामा नभई खुला ठाउँमा भेट्ने, टिका लगाउनुअघि र लगाइसकेपछि राम्ररी हात धुने अथवा स्यानिटाइजरको प्रयोग गर्ने, टिका लगाउने एवम् थाप्ने दुवैले मास्क लगाउने जस्ता कुराको पालना गर्दा सबैलाई राम्रो हुन्छ,” सुवेदीले थपे। (बिबिसीबाट)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस