काठमाडौं-तिहारलाई झिलिमिली पर्वको रूपमा बुझ्ने गरिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा राखिएको मात्र छैन, गीतसंगीतलाई पनि समेटिएको छ । तिहार नजिकिँदै गर्दा बज्ने गीतसंगीतमा अधिकांश नेपाली फिल्मकै गीतसंगीत हुन् । जहाँ तिहार र दीपावलीको वर्णन गरिएको छ ।
तिहार आएपछि बज्ने गीतमा अगाडि आउँछ– तिहारै आयो लौ झिलिमिली । यो गीत तिहारमा गाउँदेखि सहरसम्म उस्तै गरी बजाइन्छ । अझ यो गीत सुनेर तिहार आएको आभास पनि हुने गर्छ ।
नेपालीले तिहारमा सुन्न र बजाउन थालेको यो गीत झन्डै २५ वर्षभन्दा अगाडिदेखि हो । गौरी मल्ल र शिव श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको यो गीत अहिले तिहारमा बज्ने गीतहरूमा अगाडि आउँछ । यादव खरेलको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ भने यसमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन् ।
गीतमा अभिनय गरेकी अभिनेत्री गौरीले यस गीतलाई तीन रात लगाएर खिचिएको बताएकी छिन् । यो गीतको भिडियोमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।
स्वर्गको तिहारसम्बन्धी यो गीतझैँ चर्चामा रहने अर्को गीत हो, दियो बाली साँझको । नेपाली फिल्म चिनोमा समावेश यो गीतमा कुशुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत छ । प्रसिद्ध गायिका आशा भोस्लेको स्वर रहेको यस गीतले तिहारको आभाष गराउने गरेको छ । यो गीत यतिबेला घरघरमा बज्न थालिसकेको छ । गीतमा शुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । नेपाली फिल्ममा यही फिल्ममार्फत सुनिल थापालाई स्थापित गर्ने श्रेय निर्देशक तुलसी घिमिरेलाई जान्छ । गीतमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।
तिहारकै गीत समेटिएको अर्को फिल्म हो, ‘अन्याय’ । ‘अधरमा आज उनकै छ’ बोलको यस गीतलाई मनिला सोताङले गाएकी हुन् । गीतमा रत्नशमशेर थापाको शब्द छ भने संगीत रञ्जित गजमेरले दिएका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’मा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरूको अभिनय छ । गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यी यस्तै कारणले यो गीत आजपर्यन्त उत्तिकै कर्णप्रिय र लोकप्रिय छन् ।
फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरंगी टीका’ बोलको गीत पनि उत्तिकै कर्णप्रिय छ । तिहारमा बज्ने नेपाली फिल्मको गीतमा यो पनि उत्तिकै पर्छ । यसलाई नसुनेर तिहार बित्ने कल्पनासमेत गर्न सकिँदैन । यस गीतमा दाजुभाइ र दिदीबहिनीको भाइटीकाको प्रसङ्गलाई देखाइएको छ । गीतमा अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसीलाई रूपा राणाले टीका लगाइएको दृश्यलाई समेटिएको छ । गीतलाई दिनेश अधिकारीले लेखेका हुन् भने यसमा शम्भुजित बाँस्कोटाको संगीत छ । गीतमा हेम लताको स्वर छ । राजेन्द्र शलभ निर्देशित फिल्मको गीतमा दाजुबहिनिको मायालाई देखाइएको छ ।
अनिल संग्रौला निर्देशित फिल्म ‘माइती’मा समावेश तिहारको गीत पनि नबज्ने तिहार हुँदैन । ‘हाँसेर बोल बैनी’ बोलको गीतमा दुई दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्गलाई देखाइएको छ । गीतमा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय छ । गीतमा लक्ष्मण शेषको संगीत छ । राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले तिहारको अनुभूति गराउने गरेको छ ।
तिहारको गीत मात्र होइन, मिल्दो नाम ‘भाइटीका’ राखेर फिल्म नै निर्माण गरिएको छ । लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन् । यस्तै फिल्म बन्दीमा ‘भैलो खेलौँ’ गीत समावेश गरिएको छ भने नेपाली फिल्म ‘फिटकिरी’मा पनि ‘भन भन भाइ हो, देउसी रे’ बोलको गीत समावेश गरिएको छ ।
दशक अगाडि नेपाली फिल्ममा नेपाली संस्कृतिलाई समेटेर फिल्ममा गीतसंगीत तयार गर्ने गरिन्थ्यो । पछिल्लो समय पनि नेपाली चाडपर्व लक्षित गीतसंगीत नबन्ने गरेका होइनन् । तर, संख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसंगीतले माथि उल्लेखित फिल्मका गीतसंगीतलाई विस्थापित गर्न सकेको छैन । आज पनि तिहारमा मात्र होइन, दसैँ र होलीलगायतका पर्वमा पनि पुराना गीतसंगीतकै दबदबा छ । यी गीतमार्फत नेपाली संस्कृति पनि पुस्तान्तरण भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस