काठमाडाै – दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन ।
हाल अमेरिकाको क्यालिफोर्नियामा स्नातक तहमा अध्ययनरत प्रतिमा बिहीबार फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२० को एशियाका ३० वर्षमुनिका ३० युवा प्रतिभाशाली व्यक्तिको सूचीमा परेकी एक मात्र नेपाली खेलाडी हुन् ।
उनी नेपालको एक नम्बरकी महिला गल्फ खेलाडी हुन् । फोब्र्सले सार्वजनिक गरेको ३०० जनाको सूचीमा नेपालका छ युवा परेका छन् । उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभाङ्गी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् । बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकूद विधामा २४औँ स्थानमा पर्न सफल भएकी छिन । फोब्र्सले यो सूचीमा भविष्य परिवर्तन गर्न सक्ने क्षमता राख्ने व्यक्तिलाई समावेश गरेको छ ।
उक्त सूची तीन हजार ५०० जनाबाट छानिएको हो । फोब्र्सले यस्ता व्यक्ति छान्नका लागि समिति बनाउँछ । बिहीबार राति फोब्र्सको सूचीमा परेपछि नेपालमा रहेका उनका साथीले प्रतिमाले उक्त खबर सुनाएका थिए । त्यसयता उनको मन फुरुङ्ग भएको छ ।
‘चाँडोभन्दा चाँडो नेपाल फर्कन पाए हुन्थ्यो जस्तो भएको छ’, अमेरिकाको क्यालिफोर्नियाबाट फोनमा कुरा गर्दै उनले भनिन्, ‘कोरोना भाइरसका कारण साथीभाइ र आफन्तलाई खुशी साँट्नै पाइनँ ।’
कोरोना भाइरसका कारण उनी नेपाल आउन सकिरहेकी छैनन् । प्रतिमा बस्दै आएको क्षेत्रमा १२० कोरोनाबाट सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । यसले उनको मन झन् त्रसित छ । ‘यस्तो अवस्थामा नेपाल फर्कन पाए हुन्थ्यो, बाबुआमा र आफन्तका साथमा बस्न पाए मन हलुका हुन्थ्यो ।’
घर बाहिर ननिस्के खासै समस्या नहुने प्रतिमा बताउँछिन् । अमेरिकामा रहेका नेपालीसित सामाजिक सञ्जालमा खबर आदान–प्रदानका माध्यमबाट मन बहलाउने गरेको उनले बताइन् । ‘नेपालमा अमेरिकाको भन्दा कोरोनाको त्रास कम रहेछ’, उनले साथीभाइबाट पाएको खबर सुनाइन् ।
प्रतिमाको घर सोलुखुम्बुको नाम्चे हो । उनको जन्म काठमाडौँमै भएको हो । ‘एकपटक मात्र जन्मथलो गएकी छु’, उनले सुनाइन्, ‘टाढा छ टक–पटक जान सकिन्नँ ।’
पिङ्गलास्थानस्थित बाबा बाटिका विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनी ४ कक्षा पढ्दादेखि नै गल्फ खेल्न थालेकी हुन् । उनको परिवार गौचरनस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्ष (मैदान) सँगैको छाप्रोमा बस्दै आएको छ । उनका बुबा पासाङ सो मैदानका सुरक्षागार्ड हुन् भने आमा त्यहीँ मैदानको रेखदेख गर्छिन् ।
मैदानभित्रै बसाइँ भएका कारण प्रतिमाको मन गल्फतर्फ आकर्षित भएको हो । “राम्रोसित होश नफिर्दा नै काठको स्टिक खेल्न थालँे, नबुझेरै गल्फमा मन बस्यो”, उनले बिगत सुनाइन् । हाल पढाइ र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहेकी उनी नेपालकी पहिलो एम्च्योर महिला गल्फर हुन् । प्रतिमा नेपालका लागि पहिलो व्यावसायिक गल्फर बन्न चाहन्छिन् ।
होश नफिर्दै गल्फमा रमाएकी उनी सानो छँदा रमाइलोका लागि खेल्थिन् । यसरी बालसखासित रमाइलो गर्दागर्दै गल्फ खेलाडी बनेको पत्तै भएन । ‘रमाइलोका लागि खेल्थे, खेलाडी नै बन्छु भनेर कहिल्यै कल्पना गरिनँ’, अमेरिकाको क्यालिफोर्नियाबाट प्रतिमाले खुशी हुँदै भनिन्, ‘अब यसमै भविष्य बनाउँछु ।’
पछिल्लोपटक प्रतिमा गत असारमा नेपाल आएकी थिइन् । यस्तो महामारीमा उनको मन नेपालमै छ । ‘बाबुआमाको निकै चिन्ता लागिरहन्छ, कोरोनाको त्रास हटेपछि छिट्टै बाबुआमालाई खुशी साँट्न नेपाल फर्कन्छुँ’, उनले भनिन् । नेपालमा गल्फको खासै विकास हुन नसकेकोमा उनी चिन्तित छिन् ।
‘फुटबल र क्रिकेटमा जस्तै नेपाली युवा पिँढीको ध्यान गल्फमा आकर्षित गराउन चाहन्छु’, नेपालको गल्फप्रति आशावादी हुँदै प्रतिमाले भनिन् । उनी पढ्न अमेरिका जानु अघिसम्म सानो गौचरनस्थित गल्फ मैदानमा चार पाँच जना मात्र महिला खेलाडी मात्र आउने गरेको उनले सम्झिइन् ।
‘धेरैजसो रमाइलो गर्न मात्र आउँथे, गल्फ नै सिक्छु भनेर आउन्नथे’, प्रतिमा भन्छिन्, ‘अहिले पनि नियमित खेल्न र अभ्यास गर्न आउने कमै छन् ।’
धेरैको मनमा गल्फ खलेर भविष्य बन्दैन भन्ने छ । नेपालमा यो खेलको पूर्वाधार पनि छैन । महङ्गो खेल हो । त्यसैले गल्फ सबैले सहजै चाहेर पनि खेल्न सकिँदैन भन्ने आम धारणा छ ।
प्रतिमा यो परम्परागत धारणामा परिवर्तन ल्याउन चाहन्छिन् । ‘पढाइ सकेर नेपाल फर्कन्छु, नयाँ खेलाडी उत्पादनतर्फ जोड दिन्छु’, उनले भविष्यको योजना सुनाइन् । गल्फप्रतिको आम धारणालाई परिवर्तन गर्नका लागि अभियान नै चलाउने उनको इच्छा छ । ‘मेरो ध्यान त्यसमै केन्द्रित छ, नेपालमा पनि गल्फको सम्भावना छ’, प्रतिमाले निकै आशावादी हुँदै भनिन् ।
गल्फको पूर्वाधार विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट हुन नसकेको दुखेसो पोखिन् । ‘म जस्तो सामान्य आयस्तर भएको परिवारकाले त गल्फ खेलाडी बन्न सके, अरुले नसक्ने भन्ने कुरै हुन्न’, उनी भन्छिन्, ‘आर्थिक अवस्था मात्र सबैथोक होइन, इच्छाशक्तिमा भर पर्छ ।’
दाउरालाई गल्फ स्टिक मानेर गल्फ खेल्न शुरु गरेकी प्रतिमाले हिमाल आरोहण र पथप्रदर्शकका विश्वभर चिनिएका शेर्पा परिवारमा गल्फ खेलाडी बनेर सबैलाई आश्चर्यचकित पारिन् । गाेरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस