रामपुर-पाल्पाको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक वस्तुको पहिचान, लोककला र संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षका अवसरमा पाल्पामा महोत्सव नै महोत्सव भएको छ। सयौँ पर्यटकीय एवं धार्मिक इतिहाससँग जोडिएको पाल्पाका धार्मिकस्थल, सामुदायिक वन, मठमन्दिर, विभिन्न दरबार, खाना, जातजातिको वेशभूषा र संस्कृतिको प्रचारप्रसार गरेर पर्यटकलाई पाल्पासम्म आउने वातावरण मिलाउन पाल्पामा महोत्सव भइरहेको सरोकार भएका सङ्घसंस्थाले जनाएका छन्।
दर्लमडाँडामा यही पुस २१ गते भएको बृहत् भेला तथा एकदिने महोत्सवमा पाल्पामा जन्मेका कलाकार, पत्रकार, सरकारका उच्चपदस्थ व्यक्ति तथा विशिष्ट व्यक्तिलाई जुटाएर पाल्पाको भावी कार्ययोजना तथा पर्यटन विकासका सम्भाव्यता अध्ययनका निम्ति महत्वपूर्ण काम भएको संयोजक नवीन पौडेलले बताए। त्यस्तै पुस २५ मा मगरी खाना महोत्सव सम्पन्न भयो। तानसेन-९ दमकडामा आउँदो फागुन १ देखि १९ गतेसम्म पाल्पा महोत्सव हुने भएको महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवी पोखरेलले जानकारी दिए।
पाल्पाको तानसेन नगरपालिकामा नेपाल मगर सङ्घको आयोजनामा भएको मगरी खाना महोत्सवले पाल्पाका मगर समुदायको फरकफरक कला, उनीहरुको वेशभूषा, संस्कृति तथा प्रचलित खानाका परिकार उजागर गर्यो। नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीले मेलामा कोदोबाट बनेका परिकार, वन तरुल, बटुक, सखरखण्ड, विभिन्न मासुका परिकार तथा मगर समुदायमा प्रचलित मारुनी, झ्याउरे, घाँटु, सालैजो, जीवैमामा सोरठी र नाचको प्रदर्शनले सबैलाई आकर्षित बनाएको बताए। उनले भने, “महोत्सवले पाल्पाका मगर समुदायको रहनसहन, संस्कृतिका बारेमा सिक्ने मौकासमेत दियो।”
बाउन्न प्रतिशत मगर जनजातिको बस्ती रहेको पाल्पामा मगर खाना महोत्सवले उनीहरुको पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको मगरसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको भनाइ छ। यसअघि तानसेन विशाल बजार सडकमा पाल्पाको स्थानीयस्तरमा तयार पारिने विभिन्न खाना सडकमै खाने अवसरसमेत जुटेको थियो। आज तानसेनको बडिगान टोल विकास संस्थाले नेवारी खाना महोत्सव आयोजना गरेको छ। विभिन्न जातजाति, धर्म, संस्कृति र रहनसहन भएको पाल्पामा उनीहरुकै संस्कृतिलाई मेलामा हेर्न पाइन्छ।
पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थल रिडी रुरुधाम कालीनदी किनारमा पनि महोत्सव हुने भएको छ। यही पुस २९ देखि आगामी माघ ९ गतेसम्म हुने महोत्सवको तयारी भइरहेको छ। चार धाममध्येको एक धामका रुपमा चिनिने धार्मिक हिसाबले महत्वपूर्ण रहेको गुल्मी तथा पाल्पाको बीचमा पर्ने रिडीघाटमा माघ स्नान गरे पुण्य मिल्छ भन्ने धार्मिक विश्वास छ। त्यस क्षेत्रमा माघमा नुहाउन तथा मन्दिरमा दर्शन गर्न देश तथा छिमेकी देश भारतबाट समेत वर्षेनी भक्तजन आउँछन्।
विगत वर्षमा पनि काठबाट बनाइएका ठेकाभाँडा, फलामका ताँवा, हँसिया, अम्रिसोको कुचो, कटुसलगायत स्थानीय उत्पादन खरीद बिक्री भएका थिए। यस वर्ष पनि माघेसङ्क्रान्ति मेलामा यिनै स्थानीय उत्पादनको बिक्री गरिने र स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने लक्ष्य रहेको मेला मूल आयोजक समितिका संयोजक सुवर्णलाल कक्षपतिले जानकारी दिए।
यसरी आयोजना हुने मेला तथा महोत्सवले जिल्लामा उत्पादन हुने कृषि उपज, यहाँका नागरिकले तयार पारेका सीपको संरक्षण तथा प्रवद्र्धन, कलासंस्कृति, वेशभूषाको संरक्षण हुनेछ। पाल्पा जिल्ला सालैजो, रोइला, ख्याली, घाटु, चुट्का, झ्याउरे, मारुनी, सोरठी, बालनलगायत संस्कृतिले समेत धनी छ। यसरी बेलाबेला हुने मेलामहोत्सवले आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने आयोजकहरु बताउँछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस